थापाले ल्याए ‘तस्बिरमा नेपाल’

काठमाडौं । फोटो पत्रकार भरतबन्धु थापाले खिचेका नेपालको प्राकृतिक तथा सांस्कृतिक महत्व राख्ने विभिन्न स्थल समेटिएको पुस्तक सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले थापाको सिंगो नेपाललाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा ‘तस्बिरमा नेपाल’ नामक कृति प्रकाशन गरेको हो । प्रतिष्ठानले यस पटक भने नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म र हिमाल, पहाड, तराई तथा उपत्यका सबै क्षेत्रका महत्वपूर्ण तस्बिरलाई एउटै कृतिमा समेटेर प्रकाशन गरेको हो ।

फोटो पत्रकार थापाले खिचेका नेपालको भौगोलिक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले निकै महत्व राख्ने ५०० भन्दा बढी रंगीन तस्बिर पुस्तकमा रहेका छन् । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले पुस्तकमा नेपालको प्रदेश १ देखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्यसामग्रीलाई अलग अलग रूपमा प्रस्तुत गरिएको जानकारी दिए । उनले भने, ‘यो कृति फोटो पत्रकारिताका दृष्टिले त ऐतिहासिक छ नै आजसम्म प्रकाशित नेपाल चिनाउने सामग्रीहरूमध्येमा पनि सर्वाधिक उपयोगी देखिएको छ ।’

प्रतिष्ठानले दुई वर्षअघि नै नेपाल चिनाउने बृहत् ग्रन्थका रूपमा ‘नेपाल दर्पण’ प्रकाशन गर्ने घोषणा गरेको थियो । सदस्य सचिव उपाध्यायका अनुसार नेपालका सात वटै प्रदेशका भूगोल र प्रकृतिका साथै त्यहाँ बस्ने जाति र तिनका भाषा, संस्कृति, इतिहास, समाज, मूर्त÷अमूर्त कला, साहित्य, धर्म, परम्परा, सभ्यता, ज्ञान–विज्ञान, अर्थतन्त्र, व्यवसाय÷पेसा आदि पक्षको स्थलगत अवलोकनसहितको अध्ययन र अनुसन्धान गराई सम्बद्ध विद्वानबाट प्रदेशगत तहमा सात वटा आधिकारिक ग्रन्थ निर्माण गराउने प्रतिष्ठानको योजना छ ।

यसैगरी, नेपालको सांस्कृतिक तथा प्राकृतिक वैभवलाई चिनाउने लक्ष्यका साथ प्रतिष्ठानले काम गर्दै जाने उपाध्यायले बताए । उनले भने, ‘नेपालको वैभव र तिनीहरूको सारसंक्षेपका रूपमा ‘नेपाल दर्पण’ नामक आठौं ग्रन्थ तयार गरी यी सबै ग्रन्थलाई सुरुमा नेपाली भाषामा प्रकाशन गर्ने प्रज्ञा–प्रतिष्ठानको लक्ष्य रहेको छ । लगत्तै ती आठवटै ग्रन्थलाई अंग्रेजी भाषामा अनुवाद गराई प्रकाशन गर्ने योजना र लक्ष्यसहित प्रज्ञा–प्रतिष्ठानले आवश्यक बजेटका लागि नेपाल सरकारसमक्ष अनुरोध गरेको छ ।’

सदस्य सचिव उपाध्यायले कोरोना कहरका कारण आवश्यक बजेट प्राप्त नभएपछि आफ्नै आन्तरिक बजेट व्यवस्थापन गरी प्रदेश २ को परिचयात्मक ग्रन्थ लेखन कार्य सम्पन्न भएको सुनाए । उनले अन्य प्रदेशको काम गर्न नसकिएकाले तस्बिरबाट मात्र भए पनि सिंगो नेपाल चिनाउने सामग्री प्रकाशन गरेको जिकिर गरे ।

प्रतिक्रिया