एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमति नभएको पदमा भोलि मतदान हुने

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रक्रियालाई पूर्णता दिन मतदाता नामावली प्रकाशन गरिएको छ । दशौं  राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम मतदाताका रुपमा प्रकाशन गरेर बन्दसत्र भएको स्थलमा टाँस गर्न लागिएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।

एमालेका महाधिवेशन प्रतिनिधि नै मतदाता हुन् । सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्नेगरि मतदाता नामावली प्रकाशन गरिएको हो ।

महाधिवेशनको चुनावी प्रक्रियालाई कानूनी रुपमा पनि प्रमाणित गर्न मतदाता नामावली प्रकाशन तथा उम्मेदवारहरुको मनोनयन प्रक्रियालाई पूर्णता दिनुपर्ने हुन्छ ।

राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आइतवार राति ११ बजेदेखि दशौं महाधिवेशनको निर्वाचन कार्यक्रम प्रारम्भ भएको बताए । सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया