परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा एनआरएनएद्वारा मुद्दा दायर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । परराष्ट्रले अन्यायपूर्ण पत्र जारी गरेका कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको जनाइएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार उच्च अदालत पाटनमा उत्प्रेषण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको हो । सरकारविरुद्धको निवेदनमा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । परराष्ट्र मन्त्रलायप्रति गैरआवासीय नेपालीहरुको विश्वास नरहेकै कारणले अदालतको ढोका ढकढकाउन बाध्य भएको अध्यक्ष पन्तले बताए ।

अध्यक्ष पन्तले शनिबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । मन्त्रालयले जारी गरेको पत्रबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै पन्तले भने निर्वाचन पूर्व घोषित मिति डिसेम्बर १५ मै हुने स्पष्ट पारे । निर्वाचन संरक्षण समितिले नभई वर्तमान कार्यसमितिले नै गर्नेमा कुनै आशंका नभएको अध्यक्ष पन्तले बताए । संघको विधान विपरित प्रमुख संरक्षक शेष घलेले कार्यसमितिको सम्पूर्ण अधिकार माग गरेपछि संघ थप संकटतर्फ धकेलिएको अध्यक्ष पन्तको भनाइ थियो । संरक्षक परिषद्को मागलाई संघको अन्तर्राष्ट्रिय परिषद् बैठकले अस्वीकार गरेको बताउँदै विवाद सुल्झाउन संघको नेतृत्व स्वयं सक्षम रहेको अध्यक्ष पन्तले बताए ।

अध्यक्ष पन्तले संघको विशेष महाधिवेशनको म्यानडेट अनुरुप विधान अनुरुप सबै राष्ट्रिय समन्वय समितिको निर्वाचन सम्पन्न गरेर प्रतिनिधि चयन भएको बताए । उनले गैरआवासीय नेपाली संघलाई असफल गराउने उद्देश्यले केही राष्ट्रिय समितिहरु अरुको उस्काहटमा लागेको भन्दै संघको हितकालागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया