खोजखबर

बालुवा खानीमा पुरिएर दुई युवतीको मृत्यु

सौर्य अनलाइन २०७८ मंसिर १० गते १७:१७ मा प्रकाशित

खलङ्गा । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई युवतीको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।

स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा संकलनका लागि बालुवा खानी पसेका थिए । बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ ।

उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय