राप्रपामा लिङ्देनको उम्मेदवारीको अर्थ

परम्परावादी तप्काको मूलधारका रूपमा अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन निँकै पेचिलो बनेको छ । यही मंसिर १५ देखि १७ सम्म हुने पाँचौ महाधिवेशनका लागि राप्रपाले आवश्यक पूर्वतयारी सकेको छ । तर, नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनले राप्रपाको महाधिवेशन ओझेलमा परेको जस्तो देखिएको छ । धेरैको चासो मंसिर १० देखि १२ सम्म चितवनमा हुन गइरहेको एमालेको १०औं महाधिवेशन र २४ देखि २७ सम्म काठमाडौंमा हुन गइरहेको कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रित छ ।

एमाले र कांग्रेसको महाधिवेशनले सबैको ध्यान खिच्नु स्वभाविकै हो । मुलुकको सबैभन्दा ठूलो पार्टी एमाले यतिबेला मुख्य प्रतिपक्षीदलको भूमिकामा छ । दोस्रो ठूलो पार्टी नेपाली कांग्रेसले सरकारको नेतृत्वसमेत गरेको छ । तर यतिबेला राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका खासै देखिन्न । राप्रपाको महाधिवेशनले राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्ने अवस्था तत्कालका लागि देखिन्न । राजनीतिमा प्रभाव पार्ने भनेको पार्टीको आकार तथा हैसियतले हो । तर राप्रपाको आकार तथा हैसियत विगत केही वर्षदेखि निरन्तर गिर्दै गएर प्रभावविहिन हुन पुगेको छ । एक हिसाबले भन्नुपर्दा राप्रपा यतिबेला अस्तित्व रक्षाकै संकटमा छ ।

राजाको सक्रीय नेतृत्वमा चलेको पञ्चायती व्यवस्थाभित्र रहेर राजनीति गरेका नेताहरूले ०४६ सालको परिवर्तनपछि स्थापना गरेको पार्टी हो राप्रपा । त्यतिबेलै दुई वटा पार्टीका रूपमा राप्रपा जन्मेको थियो । कहिले एकीकरण हुँदै र कहिले फुट्दै राप्रपाले ३० वर्ष गुजारेको छ । एक हुँदा राम्रै चुनावी परिणाम ल्याउने दुईटा भएर चुनाव लड्दा खराब हालतमा थन्कने गरेको देखिएको छ ।

पञ्चायतकालको राजनीतिक पृष्ठभूमी र पदीय हैसियतलाई नै प्रमुख योग्यता बनाएर नेतृत्व चयन गर्ने परिपाटी रहँदै आएको राप्रपामा यसपटक भने नयाँ पुस्ताका राजेन्द्र लिङ्देन र धवलशमशेर राणा पनि नेतृत्वका लागि अघि सरेका छन् । पञ्चायतकालीन हस्तीहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई चुनौती दिँदै लिङ्देन र धवलशमशेर अघि सरेपछि राप्रपा महाधिवेशनको चर्चा मिडियामा पनि हुन थालेको छ । प्रतिनिधिसभामा राप्रपाका एक मात्रै सांसद हुन् लिङ्देन । यसैगरी मुलुकका ७ सय ५३ पालिकामध्ये अलिकति नाम चलेको पालिकामा मेयर पदमा चुनाव जित्ने राप्रपाका एक मात्रै नेता हुने धवलशमशेर ।

मुलुकमा राप्रपा नाम गरेको पार्टी छ भन्ने महसुस गराउने नेताहरू भनेका यतिबेला लिङदेन र धवलशमशेर मात्रै हुन् । धवलशमशेरको साथ सहयोगमा लिङ्देन पार्टी अध्यक्ष पदमा चुनाव लड्ने घोषणा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गरिएको छ । महाधिवेशन प्रतिनिधिहरू के कसरी ल्याइएको छ, त्यसैले परिणाम निर्धारण गर्छ । तर लिङ्देन अध्यक्ष बने भने राप्रपाको राजनीतिमा मात्रै तरंग सीमित हुँदैन । त्यो तरंगले राष्ट्रिय राजनीतिमा समेत ठूलै प्रभाव पार्छ ।

राप्रपा एक भएर चुनाव लड्दा केही अपवादबाहेक १० प्रतिशतको हाराहारीमा मत ल्याउने गरेको विगतका ६ वटा आमनिर्वाचनले पुष्टि गरिसकेको छ । यो हैसियत भनेको हालको तेस्रो ठूलो दल माओवादी केन्द्रको बराबरीमा हो । प्रत्यक्ष निर्वाचनमा राप्रपाले एक्लै चुनाव जित्न नसके पनि राप्रपासँग गरिने तालमेलले ठूलो अर्थ राख्छ । गत आमनिर्वाचनमा पनि अध्यक्ष कमल थापाले नेपाली कांग्रेससँग तालमेल गर्दै गर्दा लिङ्देनले एमालेसँग तालमेल गरेर राप्रपालाई संघीय संसद्मा नील हुनबाट जोगाएका थिए । त्यसपछि राष्ट्रिय राजनीतिमा लिङ्देन निरन्तर ओलीको साथमा छन् ।

एमाले अध्यक्ष ओलीका कतिपय एजेन्डा र राप्रपाको लिङ्देन समूहले बोकेका एजेन्डाहरू मिल्दाजुल्दा छन् । त्यसैले लिङ्देन राप्रपाको अध्यक्ष बने भने आगामी निर्वाचनमा एमाले र राप्रपा तालमेल हुने संभावना बढेर जान्छ । यता राप्रपा पनि भविष्यमा नेतृत्वको संकट पर्ने संभावनाबाट बच्छ । पञ्चायतकालमा काम गरेका नेता तथा कार्यकर्ता दिवंगत हुँदै गएको र नयाँ पुस्ता खासै अकार्षित नभएको अवस्थाबाट राप्रपा गुज्रिँदै आएको छ । नयाँ पुस्ता आकर्षित नहुने अवस्था अझै एकदशक जारी रह्यो भने राप्रपालाई कसैले पनि प्रजापरिषद हुनबाट जोगाउन सक्ने अवस्था रहन्न । तर, लिङ्देन नेतृत्वमा पुग्नु भनेको राप्रपा हाँक्न पञ्चायतकालका नेता तथा कार्यकर्ता खोज्नु पर्दैन है, भन्ने सन्देश जानु हो । यो सन्देश निकै अर्थपूर्ण हुन्छ ।

प्रतिक्रिया