एनआरएनए चुनाव मंसिर २९ गते गर्ने निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थगित चुनाव मंसिर २९ गते (डिसेम्बर १५) मा हुने भएको छ । अध्यक्ष कुमार पन्तले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा अनलाइनमार्फत नयाँ नेतृत्वका लागि चुनाव हुने जनाएका हुन् ।

यसअघि स्थगित भएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० (पुस ४ र ५ गते) काठमाडौंमा भौतिकरुपमा हुने भएको छ ।

महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई शुक्रबार नै बुझाइएको अध्यक्ष पन्तले जानकारी दिए । संघको निर्वाचनको लागि तयारीमा जुट्न निर्वाचन समिति तथा सबै महाधिवेशन प्रतिनिधिलाई समेत आग्रह गरिएको छ ।

यसअघि केही मुलुकको समन्वय समितिको चुनावमा धाँधली भएको भन्दै परेको उजुरीमा परराष्ट्र मन्त्रालयले तत्काल चुनाव नगर्न भन्दै एनआरएनएलाई परिपत्र गरेको थियो ।

परराष्ट्रले स्वतन्त्र संस्थालाई हस्तक्षेप गरेको भन्दै विरोध पनि भएको थियो । आगामी चुनावमा डा. बद्री केसी, कूल आचार्य र रविना थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया