महोत्तरी । जयनगर–जनकपुर–बर्दिबास र पूर्व–पश्चिम रेल्वे विस्तारमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम पुनरावलोकन नहुने भएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई पत्राचार गरी गत भदौ–२ गते प्रकाशित मुआब्जा निर्धारणसम्बन्धी निर्णय न्यायोचित रहेको जनाउँदै पुनरावलोकनको आवश्यकता नरहेको जनाएको हो । यसअघि गत २ भदौमा गोरखापत्रमा प्रकाशित मुआब्जा निर्धारणसम्बन्धी मूल्यमा चित्त नबुझेको भन्दै महोत्तरी बर्दिबासका जग्गाधनीले १३ भदामौ गृहमन्त्रीसँग पुनरावलोकनको लिखित माग गरेका थिए । जिल्ला प्रशासन कार्यालय महोत्तरीले गृह मन्त्रालयले पुनरावलोकन नहुने जानकारी पठाएको पुष्टि गरेको छ ।
जयनगर–जनकपुर–बर्दिवास रेल्वे र मेची महाकाली विद्युतीय रेल्वे रेखांकन तथा स्टेसन क्षेत्रमा परेको जग्गाको अधिग्रहण गर्ने सम्बन्धमा जिल्ला मुआब्जा निर्धारण समितिले २ भदौमा सूचना प्रकाशित गरेर मुआब्जा निर्धारण गरेको थियो । ‘हामीले मूल्य निर्धारण गरेर सूचना प्रकाशित गरेका थियौँ’, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भने, ‘त्यसपछि गृहमन्त्रीसमक्ष पुनरावलोकनका लागि माग भएको सुनिएको थियो, अब पुनरावलोकन हुन नसक्ने जानकारी गृहमन्त्रालयबाट आएको छ ।’ अब यसबारे आवश्यक कार्य अघि बढाउन रेल विभागलाई खबर गरी सकिएको न्यौपानेले स्पष्ट पारे ।
सरकारले दुबै तर्फ (जयनगर–जनकपुर–बर्दिवास रेल्वे र मेची महाकाली विद्युतीय रेल्वे) को रेल्वे सेवा विस्तारका लागि बर्दिबासका १ सय ५३ परिवारको ५९ बिघा जग्गा अधिग्रहण गरेको छ । जिल्ला मुआव्जा निर्धारण समितिले रेल्वेले रोक्का राखेको बर्दिबास–१, २ र १४ का जग्गाको न्यूनतम सात लाखदेखि अधिकतम ८१ लाखसम्म प्रतिकठ्ठा मूल्य निर्धारण गरेको छ । बर्दिबास नगरपालिका १, २ र १४ मा रेल्वे लिक र स्टेसन निर्माणका लागि सरकारले किसानकोे ५९ बिघा जग्गा सात वर्षदेखि रोक्का राखेको छ । महोत्तरीको बर्दिवासमा मुआब्जा विवादको कारण स्टेसन र रेल ट्र्याकका निर्माण कार्य अघि बढ्न सकेको छैन ।
यसअघि जयनगर–जनकपुर–बर्दिवास रेल्वेमा पर्ने महोत्तरीका भंगाहा नगरपालिका–४ (साविक भंगाहा गाविस–३ र ४) र बर्दिबास नगरपालिका–६ र ७ (साविक किसाननगर गाविस) को मुआब्जा निर्धारण गतवर्ष २०७७ मा भएको थियो । यद्यपि हालसम्म मुआब्जा माग गरी कसैले कानुनअनुसार दाबी भने नगरेका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्मको ६९ किलोमिटरअन्तर्गत दोस्रो खण्ड धनुषाको कुर्थादेखि महोत्तरीको भंगाहा नगरपालिका–५ बिजलपुरा स्टेसनसम्म लिक विच्छ्याउने र स्टेसन भवन तयार गर्ने काम सम्पन्न भइसकेको छ । तेस्रो खण्ड (बिजलपुरा स्टेसनदेखि बर्दिबाससम्म) १८ किलोमिटर दुरीमा भने अझै काम सुरु भएको छैन । मुआब्जा पुनरावलोकन नहुने जनाएपछि बर्दिबासका जग्गाधनीले भने आपूmहरूमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१२ मा सम्झौता भई सुरु भएको यो राष्ट्रिय महत्वको आयोजना कहिले पूरा हुने भन्ने सर्वसाधारण दिन कुरेर बसेका छन् । भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्मको ६९ किलोमिटरमध्ये ५१ किलोमिटरमा सबै निर्माण कार्य सम्पन्न भएर रेल डिब्बा र इञ्जिन पनि खरिद भई नेपाल ल्याई सकिए पनि दक्षजनशक्तिको परिपूर्ति हुन नसक्दा र तत्सम्बन्धी कानुन बनिनसक्दा सेवा भने सञ्चालन हुन सकेको छैन ।
प्रतिक्रिया