जगरनाथपुरका अध्यक्ष मियाँको पहलमा २०६ जेष्ठनागरिकको आँखाको शल्यक्रिया

पर्सा । जिल्लाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले २०६ जना जेष्ठनागरिकलाई आँखाको निशुल्क शल्यक्रिया गराएका छन् । ‘नेत्रदान जिवनदान’ नारा राखेर चलाइएको अभियान अन्तर्गत अध्यक्ष मियाँले भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोग, नेत्र ज्योति संघ र जगरनाथपुर गाउँपालिकाको आयोजनामा संचालित सात दिने निःशुल्क आँखा शिविरमा १ हजार ५ सय ४० जनाको आँखा परिक्षण गरि औषधी समेत बितरण गरिएको छ । आँखा परिक्षण गराएका १ हजार ५ सय ४० मध्ये २०६ जना मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गाउँपालिकाको भवनमा गरिएको हो।

आफ्नो गाउँ–ठाउँमा निशुल्क आँखा को शल्यक्रिया भएकोमा जेष्ठनागरिकहरु खुशी व्यक्त गरे । जानकी टोलकी स्थानीय जानकी देवीले गाउँपालिकाका अध्यक्ष जालिम मियाँले जनताहरु को दुख–सुखमा साथ दिंदै गरिब जनताहरु को निःशुल्क आँखाको शल्यक्रिया गराएकोमा धन्यवाद दिइन ।

आँखा शिविर सञ्चालन भएको सात दिन मध्ये दुई दिन प्रत्येक वडामा गएर बिरामीहरु को आँखा चेकजाँच गरिएको थियो, भने पाँच दिन शल्यक्रिया गरिएको थियो । जसमा २०६ जनाको आँखाको शल्यक्रिया गरिएको साँथै निशुल्क चस्मा र औषधी बितरण गरिएको जगरनाथपुरका पूर्व गाबिस अध्यक्ष मोसालिम मुखियाले जनाएका छन् ।

भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोग रहेको सो शिविरमा प्रमुख डाक्टर राजा हुसेन, डाक्टर सुधा रानाभाट, सहयोगी रामजानकी पाण्डे, गोकुल दहाल, सुभास सापकोटा, बिसाखा रानाभाट, शिव चौधरी, उमाकान्त बैठा, धनकुमारी थापा, उमेश पराजुली समेतको प्राबिधिक टोलीले सहयोग गरेका थिए ।

गाउँपालिका स्वास्थ्य संयोजक पुरेन्द्र साह लगायतको स्वास्थ्यकर्मी टोलीको सहभागिता रहेको थियो । निशुल्क आँखा शिबिर आज सम्पन्न भएको हो ।

प्रतिक्रिया