गायिका शाह पुरस्कृत

काठमाडौं । लामो समय गीत संगीतमा योगदान दिएकी अग्रज गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् । मंगलबार राजधानीमा टिकागोपाल डिजिटल एम क्रियसनको आयोजनामा ‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ बाट गायिका शाहलाई पुरस्कृत गरिएको हो । उनलाई वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बास्कोटा र कानून तथा संविधानविद् भीमार्जुन आचार्यले ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओडाएर पुरस्कृत गरे । कार्यक्रममा गायिका शाहलाई पुरस्कृत गर्दै संगीतकार तथा गायक बास्कोटाले सिर्जनाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका स्रष्टालाई राज्य र संघ–संस्थाले पनि सम्मान तथा पुरस्कृत गर्नुपर्ने बताए । उनले लामो समय रेडियो नेपालमा काम गरेकी शाहलाई विना सम्मान र एक्कासी रेडियो नेपालले जागिरबाट हटाएकोमा दुःख व्यक्तसमेत गरे । बास्कोटाले भने, ‘कतिपय संस्थाले थोरै समय काम गरेका आफ्ना कर्मचारीलाई सम्मानसहित बिदाई गरेका उदाहरण छन्, झण्डै तीन दशक जति काम गर्नुभएकी चन्द्रकला दिदीलाई त्यती ठूलो संस्था सरकारी मिडिया रेडियो नेपालले विना सम्मान एक्कासी जागिरबाट निकाल्दा दुःखको महशुस भएको छ ।’ उनले दाङमा जन्मिएकी गायिका शाहलाई लुम्बिनी प्रदेश सरकारले समेत उचित सम्मान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, कानून तथा संविधानविद् आचार्यले गायिका शाहको आवाज आफूले धेरै वर्ष अघिबाट सुन्दै आएको सुनाउँदै कलाकार राज्यको एक हिस्सा भएको विचार व्यक्त गरे । उनले कला र सञ्चार क्षेत्रमा समेत ठूलो योगदान दिएकी गायिका शाहको राज्यले उच्च कदर तथा सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । कार्यक्रमका आयोजक कन्हैया सिंह परियारले आफूलाई जन्म दिने बुवा र आमाको स्मरण गर्दै देशमा गीत संगीत र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी गायिका शाहको उच्च कदर गरी पुरस्कार कार्यक्रमको आयोजना गरेको जानकारी दिए । उनले स्रष्टाको योगदानलाई आगामी दिनमा पनि कदर तथा सम्मान गर्दै जाने बताए ।

गायिका शाहले यसअघि पनि आफूले केही पुरस्कार पाएको जानकारी दिँदै पछिल्लो पुरस्कारले थप गौरव बढाएको बताइन् । उनले आफूले आगामी दिनमा संगीतसँग जोडिएको एक पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिइन् । उनले आफूले पाएको पुरस्कारको राशीले सो पुस्तक प्रकाशनमा लगाउने बताइन् । गायिका शाहले आफूलाई सम्मान तथा पुरस्कृत गरेका विभिन्न संस्था र व्यक्तिको नाम उक्त पुस्तकमा उल्लेख गर्ने धारणा राखिन् । उनले भनिन्, ‘यस सम्मानले मलाई गर्व लागेको छ । एक संगीतसँग जोडिएको पुस्तक प्रकाशन गर्ने तयारीमा छु । यस पुरस्कार पनि त्यही पुस्तकमा लगाएर सधैको लागि सबैको सम्झना गर्नेछु ।’ कार्यक्रमको व्यवस्थापन पावर इन्टरनेसनल मिडिया नेपालका अध्यक्ष माधवराज खरेलले गरेका थिए ।

प्रतिक्रिया