‘धर्मभकारी’ जोगाउँदै गाउँलेहरू

पर्वत । जिल्लाको ठानामौलामा विगत ३० वर्षदेखि सुरु गरिएको ‘धर्मभकारी’ अन्नको संरक्षण गर्ने पराम्परा अहिले पनि गाउँलेहरूले जोगाउँदै आएका छन् । समयको परिवर्तनसँगै समाजका कतिपय सांस्कृतिक परम्परा, प्रविधि लोप हुँदै गएको भए पनि यहाँका वासिन्दाले धर्मभकारी भने लोप हुन दिएका छैनन् । ३० वर्ष अगाडि गाउँको ढुकुटीको रूपमा चार÷चार माना अन्न उठाएर सुरु गरिएको धर्मभकारीमा अहिलेसम्म ४० मुरी कोदो संकलन भएको छ । बर्खे खेती लगाउने समयमा घरमा अन्नपात सकिएमा गाउँले भेला भएर यही अन्न पैँचो लगेर काम चलाउँछन् भने हिउँदमा सबैले आफूले लगेको अन्नमा केही थपेर धर्मभकारीलाई फिर्ता गर्ने चलन अहिलेसम्म चलिआएको छ ।

धर्मभकारीबाट कोदो लाने व्यक्तिले १० पाथी कोदो लगेकोमा दुई पाथी थपेर मंसिरमा फिर्ता गर्ने गरेका छन् । भकारीबाट कोदो सापटी लगेपछी कोदो नै फिर्ता गर्नुपर्छ पैसा तिर्न भने पाइँदैन । आफूले लगेको अन्न मंसिरमा फिर्ता गर्नुपर्ने भएकोले सदस्यले आफ्नो बारीमा कोदो फलाउनै पर्छ । यसो गर्दा स्थानीयस्तरमा कोदो खेती पनि लोप नहुने समितिका सदस्य रत्न व गुरुङको भनाइ छ ।

त्यस्तै तत्कालीन समयमा गाउँमा वन नभएको अवस्थामा वृक्षरोपण गरी लोसेको वन संरक्षणका लागि वनको हेरालो राख्न स्रोत नभएकाले गाउँलेहरू मिलेर कोदो उठाएर धर्मभकारी स्थापना गरेको स्थानीय श्यामबहादुर कुँवरले जानकारी दिए । कहिले महामारी अनिकाल हुन सक्छ जेठ÷असारमा खेती लगाउने समयमा केही नभए पनि धर्म भकारीको कोदो बाँडेर समस्यामा परेकाहरूलाई सहयोग गरिन्छ । विपन्न असहायहरूलाई पहिला भाग लगाउँछाँै पुगे मात्र सबैलाई वितरण गर्ने धर्मभकारी संरक्षण कोषका अध्यक्ष नन्दु गुरुङले बताए ।

धर्मभकारीमा रहेको अन्न प्रायः जेठ महिनामा बाँढ्ने हँुदा मंसिरसम्म भने भकारी खाली रहने र मंसिरमा सबैले अन्न फिर्ता गर्ने हँुदा भरिने चलन रहेको छ । अन्न धेरै भएको अवस्थामा गाउँलेको भेलाले बिक्री गर्ने पराम्परासमेत रहेको पाइन्छ । बाउबाजेको पालादेखि सञ्चालनमा रहेको धर्मभकारी ठानामौलाका नागरिकलाई अफ्ठ्यारो पर्दा दुःखको साहारा बनेको छ ।

कुनै पनि वेला प्राकृतिक प्रकोपको समस्या हँुदा, अनावृष्टि हुँदा अन्नको संकट हुन नदिन धर्मभकारीले ठूलो भूमिका खेलेको छ । ढुकुटीमा कोदो बढ्दै गएपछि बढी भएको कोदो राख्ने ठाउँ नहुँदा बेच्ने गरेको गाउँलेले जानकारी दिए । ठानामौलाका ३, ४ र ५ का गाउँले मिलेर सञ्चालन गरेको धर्मभकारी दुःखका बेला सहारा बन्दै गएको छ । धर्मभकारीले गाउँमा आत्मीयता र सहयोगको भावना रहँदै आएको छ ।

प्रतिक्रिया