दोलखा । मुडे–चरिकोट सडक निर्माण सुरु भएको ६ वर्ष पूरा हँुदासमेत कालोपत्रे नभएको भन्दै दोलखाका नागरिकहरूले भौतिक पूर्वाधार मन्त्रीको फोटो सार्वजनिक यातायातमा टाँसेका छन् । अलपत्र सड्ककै कारण निराश र रुष्ट भएका नागरिकले सरोकारवाला निकायका साथै निर्माण कम्पनी र ठेकेदारलाई जिम्मेवारी अनुसारको काम छिटो सक्न दबाब दिन खबरदारी र आन्दोलनलाई जारी राखेका छन् ।
यहीबीच शनिबार भीमेश्वर नगरपालिका–७ मकैबारीका स्थानीयले मुडे–चरिकोट हुँदै आवातजावत गरिरहेको गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको फोटोसहितको पोस्टर सार्वजनिक गाडीमा टाँसेका छन् । सडकको काम तीव्र पार्न कुनै पहल नगरेको भन्दै मन्त्रीसहित मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजँग थापाको फोटो सहितको पोस्टर गाडीमा टाँसेका हुन् । मन्त्रीको फोटो सहितको पोस्टरमा ‘मुडे चरिकोट सडक कहिले बनाउँछस्, हाम्रो बिचल्ली कहिलेसम्म टुलुटुलु हेर्छस्’, भन्ने लेखिएको छ । स्थानीयका अनुसार सडक सुधार हुनुको सट्टा अलपत्र भएको र मन्त्रालयले कुनै पहल नगरेको भन्दै दबाबमुलक कार्यक्रमअन्तर्गत यस्तो गरिएको हो ।
सडक निर्माणमा ढिलासुस्ती र लापरबाही गर्ने निर्माण कम्पनी र ठेकेदारविरुद्ध यसअघि नागरिक समाजको अगुवाईमा शंख फुक्ने, मानव साङ्लो बनाउने, एक रुपैयाँ उठाएर निर्माण ठेकेदारलाई बुझाउने लगायतका दबाबमूलक काम भएको थियो । तर ठेकेदारको मनपरी र लापरबाही कायमै छ । उसले केही समय काम गरेजस्तो गरी झुक्याउने, ढाँट्ने र भाग्ने मात्र काम गरिरहेको छ ।
अब यो ठेकेदार र निर्माण कम्पनीको लापरबाहीको सीमा नाघिसकेको भन्दै उनीहरू फेरी आन्दोलनमा उत्रिएका हुन् । सडकको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी सकिल हैदर–शंकरमाली—सुनौलो खिम्ती जेभीले २०७२ सालमा पाएको हो । ७९ करोडमा निर्माण सम्भौता भएको सडकको सोही वर्षदेखि काम सुरु भएको थियो ।
तर निर्माण कम्पनी र ठेकेदारको लापरबाहीको कारण निर्माण सम्झौता भएको ६ वर्ष बित्दा पनि सडक निर्माणले गति लिएको छैन । दोलखालाई देशको राजधानी काठमाडौंसँग जोड्ने खाडीचौर–चरिकोट सडकखण्ड अन्तर्गतको दोलखा क्षेत्रमा पर्ने ३० किलोमिटर मुडे–चरिकोट सडकखण्ड ठेकेदारको लापरबाहीको कारण वर्षौंदेखि अलपत्र छ ।
दाेलखा
प्रतिक्रिया