लखनउमा नेपाली वास्तुकलाको चर्चा

लखनउ । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने लक्ष्यका साथ चार दिने कला प्रदर्शनी, अन्तक्र्रिया, कार्यशाला लगायतका कार्यक्रम भएका छन् ।

यसैबीच, कला एवं शिल्प महाविद्यालय, ललितकला संकाय लखनउ विश्वविद्यालय, लखनउको आयोजनामा नेपालबाट आएका कलाकारले डेमोस्ट्रेसन प्रस्तुत गरेका छन् । नेपाली संस्कृति र प्रकृति झल्किने कलाकृतिका साथ कलाकारले नेपालको पर्यटन प्रवद्र्धनका लागि चित्रमार्फत आव्हानसमेत गरेका छन् ।

डेमोस्ट्रेसनमा कलाकार तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाल, कृष्णगोपाल श्रेष्ठ, मनोज तामाङ योञ्जन, रिक गुरुङ, देवेन्द्र थुम्केली, रवि मिश्र, रवीन्द्र मानन्धर, चन्द्रश्याम डंगोल सहभागी थिए ।

एक सय एघार वर्ष पुरानो यस कलेजले कला क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै कलेजका डिन–प्रधानाचार्य अलोक कुमारले कलाको महत्वलाई उजागर गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले यस कलेजबाट नेपाली कलाकारले समेत अध्ययन गरेको स्मरण गर्दै नेपाल र भारतबीचको सम्बन्धलाई कला र संस्कृतिले नजिक ल्याएको धारणा व्यक्त गरे ।नेपालबाट आएका कलाकार तथा कलालेखकलाई कलेजमा स्वागत गर्दै कलेजका डिन–प्रधानाचार्य अलोक कुमारले दुई देशबीच कलाका विविध पक्षबारे चर्चा हुनुपर्ने विचार व्यक्त गरे ।

उनले भने, ‘कलाले देश देशबीचको सम्बन्धलाई नजिक ल्याउने भएकाले यसको महत्व प्राचीनकालदेखि नै रहिआएको छ ।’ नेपाली कलाकारको संयोजन गरिरहेका कलाकार केशव राज खनालले कला शिक्षाको महत्व र । कला एवं शिल्प महाविद्यालयले कलाक्षेत्रको विकासमा पुर्याएको योगदानको चर्चा गरे ।

उनले भने, ‘लखनउको कला एवं शिल्प महाविद्यालयबाट केही नेपाली कलाकारले कला अध्ययन गरेर नेपालमा पनि महत्वपूर्ण योगदान दिएका छन् । साथै यसले नेपाल र भारतबीचको सम्बन्धलाई मजबुत बनाउन भूमिकासमेत खेलेको छ ।’

प्रिन्टमेकिङ विभागका प्रमुख राजेन्द्र श्रीपद फुल्लारीले भारतीय कलाक्षेत्रमा कला एवं शिल्प महाविद्यालयले पुर्याएको योगदानको चर्चा गरे । उनले कलेजमा अध्यापन गराइने विविध विषयको जानकारी दिँदै भने, ‘कलेजमा प्रिन्टमेकिङ, मूर्ति, चित्र, प्रायोगिक कला, फोटोग्राफी, बाटिक, टेक्सटाइल, सेरामिक्स आदि विषयको अध्ययन भइरहेको छ । यी विषयले भारतीय कला र सौन्दर्यलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’

कलाकार अमित कुमारले कला र संस्कृतिले मानवीय भावनालाई नजिक ल्याउने जनाउँदै नेपाली कलाकारले आफ्नो मौलिक पहिचानलाई कलामार्फत चिनाउन सफल भएको बताए । कलाकार तथा भिजिङ लेक्चरर शत्रुधन गुप्ताले नेपाली कलाकार कलेजमा आएर कला डेमोस्ट्रेसन दिनु निकै महत्वपूर्ण क्षण भएको बताए ।

उनले भने, ‘नेपाली कलाकारलाई यस कलेजमा स्वागत गर्न पाउनु हाम्रा लागि सौभाग्यको कुरा हो । यसले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्याउँछ ।’ कलाकार तथा भिजिङ लेक्चरर सञ्जय राजपुतले कला विद्यार्थीका लागि नेपाली कलाकारको अनुभव निकै महत्वको रहेको धारणा व्यक्त गरे ।

डेमोस्ट्रेसन कार्यक्रममा पोखरेली कलाकार मनोज तामाङले कलेजले नेपाली कलाकारको अनुभवलाई साटासाट गर्ने अवसर दिएको धन्यवाद व्यक्त गरे । यस्तै, अर्का कलाकार रिक गुरुङले कलेजका विद्यार्थीमाझ कला रचना गरेर नेपाली कला शैली र परम्पराका बारेमा चर्चा गर्नु निकै आवश्यक रहेको बताए ।

कलाकार तथा कार्टुनिस्ट कृष्णगोपाल श्रेष्ठले नेपाली कलाकारलाई कला एवं शिल्प महाविद्यालय, ललितकला संकाय लखनउ विश्वविद्यालयले स्वागत गर्दै अनुभव साटासाट गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरे । भारतीय कला इतिहासमा कला एवं शिल्प महाविद्यालय, ललितकला संकाय लखनउ विश्वविद्यालय, लखनउको एक महत्वपूर्ण योगदान रहेको छ ।

यस्तै, बाबू वनारसी दास विश्वविद्यालयको वास्तुकला विभागको आयोजनामा बिहीबार नेपाली वास्तुकलाका बारेमा कलाकार तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले परिचर्चा गरे । उनले नेपाली वास्तुकलाको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वका बारेमा चर्चा गर्दै आधुनिकीकरणका नाममा लोप हुने खतरा रहेको सुनाए ।

खनालले नेपालको वास्तु परम्पराको इतिहास निकै लामो रहेको जनाउँदै काठमाडौं उपत्यकाका वास्तुकलाको बारेमा विद्यार्थीमाझ चर्चा गरे । उनले भने, ‘नेपाल वास्तुकलाका विद्यार्थीका लागि अध्ययन गर्न निकै उपयुक्त ठाउँ हो । नेपालमा विभिन्न किसिमका वास्तु संरचना छन् ।’

उनले हिमाली, पहाडी, तराई–मधेस तथा काठमाडौं उपत्यकाका वास्तुकलाका विशेषताको परिचर्चा गरे । यसैगरी बाबू वनारसी दास विश्वविद्यालय वास्तुकला विभागका डिन मोहित अग्रवालले ललितकला र वास्तुकलाबीच गहिरो सम्बन्ध रहने जनाउँदै यसको महत्वलाई समाजमा उजागर गर्नुपर्नेमा जोड दिए । उनले नेपालको वास्तुकला विद्यार्थीका लागि अध्ययन गर्न निकै उपयोगी रहेको धारणा व्यक्त गरे ।

विभागका प्रमुख संगीता शर्माले नेपाल र भारतका मौलिक वास्तुकलाको अध्ययन गर्नुपर्ने धारणा राख्दै यसले देश र सभ्यताको पहिचान दिने बताइन् । प्रा. केशव कुमारले कलाकार तथा उपप्राध्यापक अमित कुमारले नेपाली वास्तुकलाको पारम्परिक रचनात्मकता निकै सुन्दर र अध्ययन गर्नलायकको रहेको विचार व्यक्त गरे । उनले भने, ‘वास्तुकलाले सभ्यता र संस्कृतिलाई बचाइराख्दछ । यसको महत्वलाई सबैले विशिष्ट महत्व दिनुपर्दछ ।

जसका कारण हामी हाम्रो संस्कृति र सभ्यतालाई पुस्तान्तरण गर्न सक्छौं ।’ सो कार्यक्रममा अनिल कनौजिया, आंशुल सिंह, शैलेश यादव, मोहित सचान, रमाकान्त प्रजापति, वर्षा बर्मा लगायतका कलाकार तथा वास्तुकारको उपस्थिति रहेको थियो । त्यस्तै, सो विभागले आयोजना गरेको डेमोस्टे«सन कार्यक्रममा कलाकार केशव राज खनाल र मनोज तामाङ योञ्जन सहभागी भएका थिए ।

उनीहरु विभागका विद्यार्थीसँग अन्तक्र्रियासमेत गरेका थिए । सो अवसर नेपाली कलाकार, कार्टुनिस्ट, कलालेखकसँग नेपाली कला र संस्कृतिका बारेमा विभागका अध्यापक तथा विद्यार्थीले अन्तक्र्रिया गरेका थिए ।

बाबू वनारसी दास विश्वविद्यालयको वास्तुकला विभागले आयोजना गरेको सो कार्यक्रममा नेपालबाट कार्यक्रमको संयोजन गरेका कलाकार केशव राज खनाल, कलाकार तथा कलालेखक देवेन्द्र थुम्केली, मूर्तिकार चन्द्रश्याम डंगोल, कलाकार तथा कार्टुनिस्ट कृष्णगोपाल श्रेष्ठ, रवीन्द्र मानन्धर, रवि मिश्र, रिक गुरुङ र मनोज तामाङ सहभागी थिए ।

प्रतिक्रिया