राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक अनावरण

इलाम । किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ जन्मजयन्ती बिहीबार विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष २५ कात्तिकमा मनाइने फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल प्रवेशमार्गमा निर्मित फाल्गुनन्दको सालिकको अनावरण गरिएको छ । पूर्व संविधानसभाका अध्यक्ष एवं नेकपा एमाले नेता सुवासचन्द्र नेम्बाङले सालिकको अनावरण गरे । सालिक अनावरणपछि संक्षिप्त सम्बोधन गर्दै नेम्बाङले महागुरु फाल्गुनन्दको योगदानको कदर गरी निर्विरोध रूपमा विमानस्थलको नामसमेत फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल राखिएको उल्लेख गरे । १३ लाख ३७ हजार लागतमा इलाम नगरपालिकाले फाल्गुनन्द मार्ग प्रवेशद्वारसहित शालिक निर्माण गरेको हो ।

फाल्गुनन्दका अनुयायीहरुले माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माई नगरपालिकाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाएका छन् । त्यसैगरी केन्द्रीय स्तरमा मोरङको केराबारी र लेटाङ, सुनसरीको भरौलमा किरात माङहिम उद्घाटन र फाल्गुनन्दका सालिक अनावरण गरिएको । किरात धर्मगुरु आत्मानन्द लिङदेनले माङहिमको उद्घाटन र सालिक अनावरण गरेका हुन् ।

किरात धर्मावलम्बीहरू बसोवास रहेको नेपालको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्ला र प्रत्येक किरात माङहिममा जन्मजयन्ती मनाइएको किरात अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले जानकारी दिए । त्यस्तै भारत, भुटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, साइप्रसलगायतका किरात धर्मावलम्बीहरूले समेत जन्मजयन्ती मनाएका छन् ।

इलामको माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चीनाम्बामा बाबु जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट १९४२ साल कात्तिक २५ गते आइतबार साहिँला छोराको रूपमा जन्मेका फाल्गुनन्दको निधन २००५ चैत २२ गते सोमबार ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा भएको थियो ।

प्रतिक्रिया