आठवर्षपछि भरियो कुपिण्डेताल

सल्यान । सल्यानको पर्यटकीय स्थलको रूपमा रहेको कुपिण्डेताल आठ वर्षपछि पानीले भरिएको छ । ०७० सालपछि पानीको सतह घटदै गएको कुपिण्डेताल पानीले भरिएपछि मन्दिरसम्म पुग्नसमेत डुंगा चढ्नुपर्ने अवस्थामा पुगेको छ । बनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डेतालमा पानीको सतह बढेपछि तालमा घुम्न आउनेहरूको संख्यामा समेत वृद्धि हुन थालेको छ । सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमा सूचीकृत यस तालमा पानी भरिएपछि ताल आकर्षक र सुन्दर देखिएको छ ।

ताल वरपरका खोलाहरूबाट आउने बालुवा तथा सडक ताल वरिपरि निर्माण गरिएको सडकबाट निस्केको माटोले बर्सेनि ताल पुरिँदै गएकोमा यस वर्ष भने पानी पुरानै अवस्थामा भरिएको स्थानीयको भनाइ छ । आजभन्दा करिब २१ वर्ष पहिले तालमा पानी भरिएर किनारमा रहेको मन्दिरसम्म पानी भरिएको भए पनि त्यसपछिका वर्षहरूमा पानी घट्दै गइरहेको स्थानीय तिलक गोसाईले जानकारी दिए । ‘तालमा पानीको सतह घट्दै जाँदा यसको सुन्दरता पनि हराउँदै गएको थियो अहिले भने पानी पहिलेकै अवस्थामा आइपुगेको छ, पानी भरिएपछि भक्तजनहरू डुंगा चढेर मन्दिर आउने गर्न थालेका छन्’, गोसाईले भने ।

तालमा भरिएपछि तालको किनारमा निर्माण गरिएका प्रतिक्षालय लगायतका संरचनाहरू तालमा डुबेका छन् । सल्यानलाई कर्णाली प्रदेशको राजधानीसँग जोडने एक मात्र खलंगा बालुवासंग्रही सडकदेखि दुई किमि दुरीमा पर्ने कुपिण्डेतालमा पानी भरिएपछि ताल घुम्न आउनेहरूको संख्यामा वृद्धि हुन थालेको स्थानीय हरिहर कवर बताउँछन् । ‘मैले थाहा पाउने बेला जहाँसम्म पानी थियो यो वर्ष पनि त्यहिँसम्म पानीको सतह पुगेको छ, पानी कसरी भरियो भन्ने कुरा त खोजी होला तर अहिले भने ताल यति सुन्दर देखिएको छ कि यसले जसलाई पनि मोहित पार्न सक्छ’, कवरले भने ।

मन्दिरका पुजारी मानबहादुर गोसाईले तालमा पानी भरिएपछि आकर्षक भएको र घुम्न आउनेकोहरू संख्या पनि बढ्न थालेको बताए । अहिले ताल घुम्न आउने आन्तरिक पर्यटकहरूको संख्यामा वृद्धि हुन थालेको गोसाईले जानकारी दिए । ‘तालमा पानी बढ्नुको खास कारण थाहा छैन्, यही बेमौषमी वर्षातले नै तालमा पानी भरिएको हो भने पनि तालको पानी घटेर पुरानै अवस्थामा फर्किन करिब तीन महिना लाग्छ’, गोसाईले भने ।

ताल संरक्षणका लागि बर्सेनि लाखाँै रकम खर्च गरिएको भए पनि स्थानीयहरूमा सचेतना फैलाउन नसक्दा ताल वरपरको सुन्दरता भने घटेको छ । वरिपरिका क्षेत्रमा चरिचरनको रूपमा प्रयोग गरिनु, डालेघाँसको रूपमा वनमा घाँस काटनुले सुन्दरता घट्न थालेको सरोकारवालाहरूको भनाइ छ ।

धार्मिक किंवदन्तीसँग जोडिएको यस तालमा सधँै पानी स्वच्छ र सफा हुने भएकोले पनि यहाँ घुम्न आउनेहरूको भिडभाड हुन थालेको छ । यस तालको छेउमा रहेको मन्दिरमा पूजाआजा गरेर वरदान मागेमा पूरा हुने जनविश्वास रहेकोले पनि यस क्षेत्रको धार्मिक महत्व पनि बढेको मन्दिरका पुजारी गोसाईले जानकारी दिए ।

खलंगा–बालुवासंग्रही सडक खण्डको स्तरोन्नतिको काम भइरहेकोले पनि तालमा घुम्न आउनेहरूको संख्यामा वृद्धि हुन थालेको छ । ताल घुम्नका लागि झण्डै दुई दर्जन डुंगा सञ्चालनमा रहेका छन् । कुपिण्डे तालमा आन्तरिक र बाह्यगरी वार्षिक लगभग २५ हजार पर्यटक पुग्ने गरेका छन् । ताल घुम्नको लागि सुर्खेत, जाजरकोट, दैलेख, बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा, रुकुमलगायत देशका विभिन्न जिल्लाबाट आउने गर्दछन् ।

वर्षमा तीनपटक रङ फेर्न कुपिण्डे ताल २३ दशमलव ५३ हेक्टर क्षेत्रमा फैलिएको छ । तालको लम्बाइ ८ सय ३४ मिटर, चौडाइ २ सय ५० मिटर र गहिराइ ३४ मिटर रहेको छ । समुद्री सतहदेखि १ हजार १ सय २० मिटर उचाइका तालमा पानीको भाग ५४ लाख ८२ हजार मिलि रहेको अनुमान छ ।

प्रतिक्रिया