खलंगा । कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्यांकका अनुसार करिब १८ लाखभन्दा बढी जनसंख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशतअर्थात् ५ लाख ६१ हजार नागरिक मात्रै विद्युत्को प्रत्यक्ष पहुँचमा छन् । बाँकी १३ लाख अर्थात् ६७ प्रतिशत नागरिक टुकी र दियालोकै भरमा छन् । करिब १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता र सम्भावना रहेको कर्णालीमा पर्याप्त लगानी नहुँदा यहाँका नागरिक बत्तीमुनि अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिक अधिकारकर्मी बताउँछन् ।
केही वर्ष पहिलेसम्म कर्णालीका ७२ प्रतिशत नागरिक विद्युत्को पहुँच बाहिर थिए । पछिल्लो समय प्रदेश तथा स्थानीय सरकारले साना तथा लघु जलविद्युत् र सौर्य ऊर्जा निर्माण गरेपछि पाँच प्रतिशतले घटेको भौतिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले विगतका वर्षमा जस्तै चालु आर्थिक वर्ष ०७८÷७९ मा पनि प्रदेशका जिल्लामा ग्रामीण विद्युतीकरणका लागि ४२ करोड ३१ लाख बजेट विनियोजना गरेको छ । प्रदेश सरकार गठन भएयता तीन वर्षमा कर्णालीलाई लघु जलविद्युत् तथा वैकल्पिक ऊर्जामार्फत अँध्यारोमुक्त बनाउने सरकारको लक्ष्य पनि सपनाजस्तै भएको छ ।
महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतमा ४७, सल्यानमा ५० रुकुम–पश्चिममा ३९, दैलेखमा २६ जाजरकोटमा १४ प्रतिशत जनसंख्याले मात्र विद्युत् सेवा पाएका छन् । यसैगरी डोल्पामा २०, जुम्लामा पाँच, कालीकोटमा २२, मुगुमा १९ र हुम्लामा २८ प्रतिशत नागरिक विद्युत्को पहँुचमा छन् । यो राष्ट्रिय प्रसारणलाइन, लघु जलविद्युत् आयोजना र वैकल्पिक ऊर्जा लगायतबाट लाभान्वितको संख्या हो । तथ्यांकअनुसार सबैभन्दा बढी सल्यानमा र सबैभन्दा कम जुम्लाका नागरिक विद्युतीय पहुँचमा रहेका मन्त्रालयको ऊर्जा विकास महाशाखाले जनाएको छ ।
हालसम्म प्रदेशका १० जिल्लामध्ये सातामा मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । तीन जिल्लामा अझै राष्ट्रिय ग्रिड पुग्न सकेको छैन । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालीकोट, रुकुम–पश्चिम र जुम्ला सदरमुकाम खलंगा बजारमा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा पुगेको छ । माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पामा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो, भन्ने हालसम्म कुनै टुंगो लागेको छैन । माथिल्लो कर्णालीवासीले कहिले राष्ट्रिय प्रसारण लाइन आउने हो भनेर आशमा बसेको यहाँका नागरिक बताउँछन् ।
प्रतिक्रिया