एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएपछि विवाद, निषेधाज्ञा जारी

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाइ नगरपालिकाको स्टल बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक विज्ञप्ति जारी गदै आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म कमलामाई नगरपालिकाको स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाङ्खोला पुल, हस्पिटल रोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिस तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिल निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधित क्षेत्रमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै किसिमका सभा, समारोह तथा जुलुस गर्न नपाइने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । कार्यक्रममा सहभागी हुन पोखरेलले मंगलबार नै सिन्धुलीगढी पुगेका छन् । तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएको छ । गठबन्धनका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

प्रतिक्रिया