खुमन, अभिषेक र राजेशलाई ‘स्टार’ अवार्ड

काठमाडौं । लोकदोहोरी गायक खुमन अधिकारी, मोडल अभिषेक खड्का र गायक तथा सञ्चारकर्मी राजेश बर्देवाले ‘स्टार अन्तराष्ट्रिय’ अवार्ड प्राप्त गरेका छन् । ‘द इन्टरनेशनल प्रालिले’ आयोजना गरेको ‘स्टार अन्तराष्ट्रिय अवार्ड २०७८’ अन्तर्गतको कार्यक्रममा गायक अधिकारीले ‘टोपी किनेको’ बोलको गीतबाट ‘द बेस्ट पपुलर सिंगर अफ द एयर’ विधाको अवार्ड प्राप्त गरेका हुन् ।

त्यस्तै, मोडल अभिषेकले ‘कलकत्ते काइँयो’ बोलको गीतमा गरेको अभिनयमार्फत उनले ‘द बेस्ट मोडल’ को विधामा अवार्ड हात पारे । त्यसैगरी, गायक एवं सञ्चारकर्मी बर्देवाले आफू र गायिका सहीमा श्रेष्ठले आवाज दिएको ‘पहिला–पहिला भेट हुन्थ्यो दाउरा र घाँसैमा, अहिले हाम्रो भेट हुन्छ फेसबुक र ट्विटरमा’ बोलको गीतबाट अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

रक्षामन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीको पनि विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै रक्षामन्त्री डा. रिजालले कलाकारहरुले विभिन्न माध्यमबाट देशमा सौन्दर्य भर्नु आम मानीसको लागि खुशी र समय गुजार्ने अवसर मिलेको बताए । साथै, उनले गीत संगीतमा छाडापन अन्त्यको लागि पनि कलाकारहरु सचेत रहनुपर्ने बताए ।

‘गीत संगीतबाट आम मानीसहरुले मनोरञ्जन लिइन्छ,’ डा. रिजालले भने, ‘तर केही छाडापनका गीत आउँदा आँखा बन्द गर्नुपर्ने अवास्था हुन्छ, यस्ता गीत बन्द गर्न कलाकारहरु सचेत हुनुपर्छ ।’ कार्यक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख क्षेत्रीले अवार्डले कलाकारहरुको गरिमा थप उचाइमा पुर्याउने बताए ।

करिब १० हजार हाराहारीका गीतमा आवाज दिएका गायक खुमन अधिकारीले हालसम्म करिब १५ वटा अवार्ड प्राप्त प्राप्त गरिसकेको जानकारी दिए । उनले पछिल्लो पटक प्राप्त गरेको अवार्डले आफूलाई गीत संगीतमा झन् जिम्मेवार बनाएको र अबका दिनमा जोश र जाँगरका साथ फरक–फरक धारमा प्रस्तुत हुँदै अगाडि बढ्ने बताए । त्यस्तै, मोडल अभिषेकले पनि यस अवार्डबाट अब गीत संगीतमा केही गर्ने आँट आएको बताए ।

उनले आफूले दुई दर्जन जति म्युजिक भिडियोमा अभिनय गरेता पनि खुमन अधिकारीसँग जोडिएर काम गर्न थालेपछि आफूलाई धेरैले चिनेको जिकिर गर्दै आगामी दिनमा पनि खुमनसँगै सहकार्य गरेर अगाडि बढ्ने बताए । गायक तथा सञ्चारकर्मी बर्देवाले लामो समयदेखि आफू सञ्चार क्षेत्र र कला क्षेत्रमा सक्रिय रहँदै आएको जानकारी दिँदै अवार्ड प्राप्त गर्दा मेहनेतको फल मिलेको अनुभुती सुनाए ।

‘लामो समयदेखि दुवै पेशालाई अँगाल्दै आएको छु, संघर्ष गर्दै जाँदा अवार्ड प्राप्त भयो, यस अवार्डले मलाई सञ्चार र कला दुवै क्षेत्रमा थप जिम्मेवार बनाएको छ’, बर्देवाले भने । बर्देवा हाल एपिवान टेलिभिजनमा ‘जुनकिरी दोहोरी’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया