देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरे : रामवरण यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत गरेका हुन् । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच विमोचन गर्दै यादवले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैन ? भनेर सरकारलाई प्रश्न गरे ।

कानुनमन्त्रीले सो समस्या समाधान गर्न सक्दैनन् भन्दै पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुर्याएको बताए । यादवले सारा न्यायाधीशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरुमाथि प्रश्न समेत तेस्र्याए।

पूर्वराष्ट्रपति यादवले भने, ‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छन् । बुद्धिजीविहरु एकातिर छन् । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छन् । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन्, कि म छोडदिन । केही नभएपनि एक्लै बेञ्चमा बस्छ । कसको तागतमा ? तर, आजसम्म पोलिटिकल पार्टीहरुले उनीहरुको त कुरा छोडिदिऊ । सरकार देशको प्रतिनिधि हो । प्रथम प्रतिनिधि हो देशको । सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन ? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ? आज संसारको सामुन्य न्यायालयको अवस्था यस्तो छ । तर सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ । तर आज बेलायतको सामुन्ने संसारको सामुन्य न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुन्य टाउँको देखाउन सक्छौं?’

त्यति मात्र नभएर पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति समेत असन्तुष्टि जनाएको छन् । यादवले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हन् । पूर्व राष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भिर नभएकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया