७८ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि साढे ६अर्ब नाघ्यो

काठमाडाैं । साताको तेस्रो दिन पनि शेयर बजार हरियाली बनेको छ । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक ७८.८२ अंकले बढ्दै २७५१.०७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ सूचक ११.५० अंकले बढ्दै ५१६.०७ विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक २.९३ प्रतिशतले बढ्दा सेन्सेटिभ परिसूचक २.२८ प्रतिशतले बढेको छ । यस दिन कारोबार रकम ६ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी छ । मंगलवार कुल २ सय २७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १ सय २३ कित्ता शेयर ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९ सय ३२ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन १३ वटै समूहहरूको सूचक वृद्धि भएको छ । जसले गर्दा शेयर बजारमा हरियाली छाएको छ । १३ समूहमध्ये होटल तथा पर्यटनतर्फ लगानीकर्ता झुम्मिएका छन् । यस समूहको सूचक ७.५१ प्रतिशतले बढेको छ । सबैभन्दा कम भने माइक्रोफाइनान्स तर्फको वृद्धि भएको छ । मंगलवार माइक्रोफाइनान्स समूहको सूचक १.३ प्रतिशतले बढेको छ ।

मंगलवार विभिन्न ७ कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढ्दै कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । बेस्ट फाइनान्स कम्पनी लिमिटेड, न्याग्दी ग्रुप पावर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले सकारात्मक सर्किट ब्रेक लागेको छ ।

यस दिन अन्य केही कम्पनीहरूको शेयर मूल्य पनि उच्च वृद्धि भएको छ । समग्र बजारमा हरियाली छाएपनि केही कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । जसमध्ये साना किसान विकास बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ । कारोबार रकममध्येमा मंगलवार कामना सेवा विकास बैंक लिमिटेडको सबैभन्दा बढी ४४ करोड ७४ लाख ५७ हजार ७४६ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया