सडकका आवाजको भरमा राजीनामा दिन्नँ : प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १५ जना न्यायाधीशहरुलाई जवाफ दिएका छन् । उनले आज अफू संकटमा परेपछि न्यायाधीशहरुसँगको छलफलमा प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए आफू पनि तयार रहने भन्दै जवाफ दिएका हुन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूलाई भने, ‘सडकका आवाजको भरमा मैले राजीनामा दिन्नँ, ‘यहाँ विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए म पनि तयार छु ।’

जबरा आफू संवैधानिक बाटोबाट आएकाले व्यवस्था अनुसार नै कायम रहने जिकिर गरे । उक्त छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । प्रधानन्यायाधीशसँगको भेटपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेको स्रोतले जनाएको छ ।

न्यायालयमा बेथिति बढेको‚ सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेको लगायतका विषयमा असन्तुष्टि जनाएका १५ जना न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका थिए ।

सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास पनि बहिष्कार गरेका न्यायाधीशहरूले जबरालाई भेटेर आफ्ना कुरा राख्ने र प्रधानन्यायाधीशले समाधान नगरे थप कडा कदम चाल्ने स्रोतको भनाइ छ ।

सोमबार प्रधानन्यायाधीशले १५ जना न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामा दिन दबाब बढ्दै गएको छ ।

प्रतिक्रिया