हुवासिन सिमेन्टलाई विद्युत् दिन स्विचिङ स्टेसन सञ्चालनमा

काठमाडौं । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङ्दी–स्युचाटार १ सय ३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । तनहुँस्थित तल्लो मस्र्याङदी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा ‘लुप इन’ गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइनेछ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

दसैंको समयमा विद्युत्को माग कम हुने भएकाले स्विचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अरू समयमा मस्र्याङ्दी–स्युचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्न सक्ने अवस्था नभएकाले यो समय मिलाएर चार्ज गर्न दिइएको थियो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्विचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२÷१० केभीको सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणले स्विचिङ स्टेसन निर्माणको सुपरिवेक्षण गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङका अनुसार स्विचिङ स्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिनेछ । स्विचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको र त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले भने, ‘त्यस क्षेत्रको विद्युत् आपूर्तिसमेत विश्वसनीय हुनेछ ।’

प्रतिक्रिया