राजमान पश्चिमा शैलीमा काम गर्ने पहिलो कलाकार

राजमान सिंह चित्रकार, नेपालमा पश्चिमा शैलीमा काम गर्ने पहिलो कलाकारका रूपमा परिचित छन् । नेपालको मौलिक धारबाट पश्चिमी वस्तुवादी शैलीमा कला बनाउने आधार भने इस्ट–इन्डिया कम्पनीसँग भएको सुगौली सन्धीपछि बनेको हो । हुन त नेपाली कलामा पश्चिमी शैलीमा काम गर्ने कलाकारको केही समय अघिसम्म भाजुमान चित्रकारलाई लिइन्थ्यो । तर, इतिहासको कालखण्डमा भाजुमानभन्दा ३० वर्षअघि अर्थात् सन् १८२० मै राजमानले पश्चिमा शैलीमा काम गरेका थिए । नेपालमा भाजुमान जंगबहादुर राणाको सन् १८५० को बेलायत भ्रमणमा सँगै गएपछि कलामा पश्चिमा शैली भित्रिएको मानिँदै आएको थियो ।

सन् १८१६ को सुगौली सन्धीपछि नेपालमा अंगे्रजको चहलपहल बढ्दै गयो । बेलायत अर्थात् इस्ट–इन्डिया कम्पनीको नेपालमा स्थायी आवासीय प्रतिनिधि बस्न थाले । बेलायतको पहिलो स्थायी आवासीय प्रतिनिधिको रूपमा नेपालमा इडवार्ड गार्डनर आएका थिए । उनी कुटनीतिसँगै बनस्पतिको खोज–अनुसन्धान कार्यमा समेत संलग्न रहे । गार्डनरले सन् १८१६ देखि १८२९ सम्म नेपालमा बेलायतको स्थायी आवासीय प्रतिनिधिका रूपमा रहेर काम गरेका थिए ।

त्यसवेला उनको सहयोगी रोर्बट स्टुआर्ट थिए । स्टुआर्टले गार्डनरलाई वनस्पतिका नमुना संकलनमा सहयोग गरेका थिए । गार्डनरको सो टोलीमा फ्रान्सिस डि सिँल्भा र भरत सिंह पनि रहेको थिए । नाथालियल वालिच इस्ट–इन्डिया कम्पनी भारतमा वनस्पति संकलन तथा अध्ययन गर्ने प्रमुख व्यक्ति थिए । वालिचसँग सन् १८२० मा तराई हुँदै काठमाडौं आउनेक्रममा रोर्बटलाई मलेरिया लाग्छ । यही रोगका कारण उनको काठमाडौंमा मृत्यु हुन्छ । उनको मृत्युपछि सो खाली पदमा ब्रायन एचएच हड्सन सहयोगीका रुपमा नियुक्त भइ काठमाडौं आउँछन् । सुरुमा हडसन गार्डनरको सहयोगी भएर काम गर्छन् । हड्सनको रुचि संस्कृति, चराचुरुंगी तथा जीवजन्तुको अध्ययनमा रहेको पाइन्छ । उनले आफ्नो अध्ययन अनुसन्धानका लागि दृष्टान्तचित्रको आवश्यकता परेकाले नेपाली कलाकार राजमानसिंह चित्रकारलाई आफ्नो सहयोगी तथा चित्रकारको रूपमा नियुक्त गर्छन् ।

परम्परागत ढंगले काम गर्दै आइरहेका राजमानले नेपाली कलामा नवीनतम शैलीमा काम गर्ने अवसर भने हड्सनको संगतले पाए । त्यत्तिबेला काठमाडौंमा चलेका परम्परागत तथा संस्कारजन्य कलाकृति बनाउने परिवेशमा एकाएक हड्सनको आगमनपछि नितान्त नयाँ शैलीमा काम गर्ने अवसर राजमानले पाए । हड्सनको अध्ययनका लागि चित्र बनाउने राजमानसँगै अन्य १० जना कलाकार रहेको कतिपय इतिहासकारले चर्चा गरेका छन् ।


हड्सनभन्दा तीन वर्ष जेठा सन् १७९७ (?) मा जन्मिएका राजमानले जीवनको सुरुआती दिनमा परम्परागत तथा संस्कारजन्य कला बनाएका थिए । यो उनको पुर्खादेखि चलिआएको कार्य थियो । हड्सनसँगको सम्पर्कपछिको उनले सुरुआती दिनमा काठमाडौं उपत्यकाका बौद्ध वास्तुकला चैत्य, स्तूपा, बहाल तथा बिहारका रेखाचित्र बनाएको देखिन्छ ।

हड्सनको संगतपछि उनले जीवजन्तु तथा चराचुरुंगीका थुप्रै चित्र बनाए । प्राकृतिक यथार्थपरक शैलीमा उनले सयौं जीवजन्तु र चराचुरुंगीका रेखाचित्र तथा जलरङमा चित्र बनाए । उनले जीवजन्तु, चराचुरुंगी, दृश्यचित्र तथा मुहारचित्र बनाएको पाइन्छ । कलाकार तथा कलालेखक मदन चित्रकारले राजमानसिंहले नेपाली कलामा पश्चिमेली शैलीलाई भित्र्याएर नयाँ युगको आरम्भ गरेको जिकिर गरे ।

उनले भने, ‘नेपाली कला परम्परामा राजमानले नयाँ युगको आरम्भ गरेका हुन् । उनी पश्चिमा वस्तुवादी शैलीमा काम गर्ने नेपालका अहिलेसम्म भेटिएका पहिलो व्यक्ति हुन् ।’ मदनले ०६३ सालमा ललितकला द्वैमासिकमा ‘राजमान सिंह निर्विवाद आदिपुरुष’ शीर्षकको लेख नै प्रकाशित गरेर राजमानको कलायात्रा, कलाकृति र नेपालमा त्यसको प्रभावका विषयमा चर्चा गरेका थिए । मदनले उनका कलाकृतिका विषयमा समीक्षात्मक ढंगले लेख लेख्दै नेपाली कला इतिहासमा लुकेको एक प्रतिभाशाली कलाकारको उत्खनन् गरेका थिए ।

हुन त मदनले भन्दा अगाडि ०६३ सालमै हरिहरराज जोशी र इन्दु जोशीको संकलनमा रहेको २४ थान राजमानकृत प्रिन्टको एकदिने प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा गरिएको थियो । ललितकला द्वैमासिक पत्रिकाले त्यसको संयोजन गरेको थियो । त्यस प्रदर्शनीमा राजमानले बनाएका बौद्ध वास्तुकला, चराचुरुंगी, जीवजन्तु तथा विभिन्न जनजातिका मुहारचित्र राखिएको थियो । साथै हरिहर जोशी र इन्दु जोशीले लेखेको ‘द पायनियर नेपाली आर्टिस्ट : राजमान सिंह चित्रकार’ नामक पुस्तिकासमेत प्रकाशित गरिएको थियो ।


राजमानको कलायात्राका बारेमा कलाकार तथा लेखक मदन चित्रकार भन्छन्, ‘सन् १८२० देखि १८५० सम्म राजमानले काम गरेको पाइन्छ । तत्कालको कला परिदृश्य नितान्त धार्मिक सोच र परम्परागत शैलीमा आधारित थियो । अर्थात पाश्चात्य प्रभाव नितान्त शून्य थियो । सुरुमा राजमानको कला यात्रा यसै शैलीमा थियो । १८२० पश्चात्का राजमानकृत रेखाचित्रहरूको अध्ययनबाट उनी पश्चिमेली शैलीमा प्रवेश भएको पुष्टि हुन्छ ।’

राजमानका विषयमा नारायणबहादुर सिंहले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले ०३४ साल पुसमा आयोजना गरेको गोष्ठीमा प्रस्तुत गरेको कार्यपत्रमा समेत चर्चा गरेका थिए । ‘आधुनिक कला र नेपाल’ शीर्षकमा लेखिएको सो कार्यपत्रमा सिंहले राष्ट्रिय संग्रहालय छाउनीमा ४२ थान विभिन्न चराचुरुङ्गी र जीवजन्तुका चित्र रहेको उल्लेख गर्दै दुईवटा चित्रमा राजमान सिंह चित्रकार लेखिएको विषयलाई उठाएका थिए । यस विषयमा नेपाली इतिहासकारको ध्यान जानै सकेन् । राजमानका कलाकृतिका बारेमा गहन अध्ययन गर्न न त प्रज्ञा प्रतिष्ठानले गर्यो न त विश्वविद्यालय नै गरे । लामो समयसम्म यो विषयमा चर्चा नै भएन । ०३४ सालमा नारायणबहादुरले चर्चा गरेपछि ०६३ सालमा हरिहरराज जोशी र इन्दु जोशीले राजमानका बारेमा पुस्तिका प्रकाशित गरेपछि मात्रै नेपाली कला इतिहासमा नयाँ बहस सुरु भएको हो ।

राजमानकृत चित्रहरू भारतको कलकत्ता, रोयल एसाइटिक सोसाइटी लन्डन, फ्रान्सको म्युजि डि गुइमे, ब्रिटिस लाइब्रेरी, अमेरिका लगायतका स्थानमा रहेका छन् । लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा राजमानकृत चित्रका प्रिन्टको प्रदर्शनी भएको छ । यस्तै, सिद्धार्थ आर्ट फाउन्डेसनले आयोजना गरेको काठमाडौं त्रिनालेमा राजमानकृत मूल चित्रको प्रदर्शनी तीन वर्षअघि बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भएको छ । यस्तै, कलाकार तथा कला समीक्षक रमेश खनालले राजमानका बारेमा पुस्तक नै प्रकाशन गरेका छन् ।

मदन पुरस्कार पुस्तकालय, द सर्राफ फाउन्डेसन र तारागाउँ म्युजियमको आयोजना ०७३ सालमा राजमानले बनाएका दृश्यचित्र प्रदर्शनी गरिएको थियो । प्रायःजसो रेखाचित्र सन् १८४३÷४४ ताका कोरिएका विशेषगरी वास्तुकलासँग सम्बन्धित तत्कालीन काठमाडौं उपत्यकाको स्वरुपलाई केलाएको पाइन्छ । मठ–मन्दिर, चैत्य, स्तूपा र घरका दृश्यात्मक रेखाचित्रले नेपालको वास्तुकलालाई कलात्मक रूपमा उधिनेको पाइन्छ ।

नेपाली कलामा पश्चिमी वस्तुवादी शैली पच्छ्याउँदै प्रकाश र छायाको समेत निकै कलात्मक रूपमा प्रयोग गर्दै राजमानले चित्र बनाएका छन् । नेपाली चित्रकलामा दृश्यचित्रमार्फत दूरान्तरको प्रयोग पनि सबल रूपमा राजमानले गरेको पाइन्छ । पाटनस्थित भीमसेन मन्दिरसँगै त्यत्तिबेलाको दिनदैनिकीलाई समेत चित्रण गरेका छन् । नेपाली कलामा नयाँ शैलीमा काम गर्ने कलाकारको रूपमा राजमानलाई लिनुपर्नेमा कलाकार, कलासमीक्षक प्राज्ञ रमेश खनाल बताउँछन् ।

उनले राजमानले बनाएका दृश्यचित्रमा त्यसबेलाको काठमाडौं उपत्यका वरिपरिको सामाजिक तथा सांस्कृतिक विषयको अध्ययन गर्न सघाउ पुग्ने विचार व्यक्त गरे । यस्तै, कलाकार, कलालेखक तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले नेपाली कलामा पहिलो दृश्यचित्रकारका रूपमा राजमानलाई लिनुपर्ने बताए । उनका अनुसार त्यसभन्दा अगाडि नेपालमा दृश्यचित्र बनाएको इतिहास भेटिएको छैन । राजमानले दृश्यचित्रमा संरचना, सन्तुलन, दूरान्तर, प्रबलता, रेखाको ऐक्यता, लयात्मक तथा सुललित रेखा आदिलाई निकै परिपक्व ढंगले चित्रण गरेका छन् । राजमानलाई सम्मान गर्दै नेपाल हुलाक सेवा विभागले टिकट प्रकाशनसमेत गरेको छ ।

राजमान हड्सनको दार्जिलिङ बसाइसँगै पछि नेपाल फर्केनन् । उनको निधन कहिले भयो यो पनि खोजको विषय नै रहेको छ । तर कतिपय विद्वानले भने सन् १८६५ (?) मा उनको दार्जिलिङमा निधन भएको बताएका छन् । नेपाली आधुनिक कलाका आदिपुरुष राजमानका सयौं चित्र विश्वका विभिन्न देशका संग्रहालय, पुस्तकालय तथा विश्वविद्यालयमा छरिएर रहेका छन् । ती कलाकृतिको खोज गरी दस्तावेजीकरण गर्नुपर्दछ । साथै राजमानसँगै अन्य कलाकारले समेत हड्सनसँग काम गरेको पाइएको छ । राजमानसँगै भाजुमान, राजवीर, तुल्सीमुनि चित्रकार, धनानन्द बाडा लगायतका कलाकारका बारेमा समेत उचित खोज–अनुसन्धान गरिनु पर्दछ ।
(राजमानसिंह चित्रकारको यो काल्पनिक चित्र मदन चित्रकारले बनाएका हुन् ।)

प्रतिक्रिया