पहिरोले अवरुद्ध भएको दिक्तेल–काठमाडौं सडक सञ्चालनमा

खोटाङ । लगातारको वर्षाका कारण ठाउँठाउँमा झरेको पहिरोले अवरुद्ध भएको दिक्तेल–काठमाडौं सडक खण्डको यातायात सेवा सञ्चालनमा आएको छ ।

गत असोज–३१ देखि कात्तिक–२ गतेसम्म लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–काठमाडौं सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएर नियमित यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा झरेको पहिरो पन्छाइएपछि काठमाडौंबाट खोटाङसँगै ओखलढुङ्गा र सोलुखुम्बु आवत–जावत गर्ने सवारी साधनसमेत निर्वाधरुपमा गुड्न थालेको यातायात व्यवसायीले बताएका छन् ।

मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँको सडकमा थुप्रिएको पहिरो पन्छाएर सवारी साधन वारपार गर्ने वातावरण बनाइए पनि सडकलाई पूर्णरुपमा ‘क्लियर’ गर्न बाँकी देखिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए ।

साँघुरो तथा छोटो दूरीमा घुम्ती भएका कारण वर्षा याममा बढीमात्रामा सडकमा पहिरो खस्ने गरेको महासचिव हिङमाङले बताए । ‘पहिरो खसेको ठाउँमा ट्र्याक खोलियो तर अझै पनि जोखिम छ ।

सडक पूर्णरुपमा क्लियर गरिएको छैन’, उनले भने, ‘सडक चौडा नहुनु र नजिक–नजिक मोड भएका कारण पहिरोले बढी क्षति पुर्याएको हो, छोटो मोडमा माथिबाट पहिरो खस्दा तल्लो मोड पनि बिगारेको छ ।’

वर्षाका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा, सिन्धुलीको नागथान, कालीआँप, हैवारलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । खुर्कोट नजिक पर्ने हैवारमा विशाल पहिरो खस्दा यात्रु तथा मालबाहक सवारी साधन सडकमै अलपत्र परेका थिए ।

पटक–पटक पहिरो खस्ने हैवारमा यस पटक पहिरो खस्दा खोटाङसहित ओखलढुङ्गा र सोलुखुम्बुका यात्रु बीच सडकमै थुनिएका थिए । हैवारमा गएको पहिरोले दुई दिनसम्म बाटो थुनिएपछि कतिपय यात्रु तथा मालबाहक सवारी साधन सिन्धुली–उदयपुरको कटारी–घुर्मी हुँदै ओहोर–दोहोर गर्न बाध्य बनेका थिए ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि घुमाउरो बाटो प्रयोग गर्दा कम्तीमा १२० किलोमिटर घुम्नु परेको यातायात व्यवसायीले बताएका छन् । कदुवामा कात्तिक–३ गते झरेको पहिरो पन्छाइए पनि पुनःखसेपछि बिहीबार दिनभर पन्छाएर बेलुकाबाट सडक सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

भारी वर्षाका कारण दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्णअवरुद्ध बनेको यातायात व्यवसायीले बताएका छन् । जिल्लाका सबै ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा नआउँदा दसैँ मानेर शहर फर्कने यात्रुलाई सबैभन्दा बढी समस्या भएको छ ।

अवरुद्ध ग्रामीण सडक पुनःमर्मत गरेर सञ्चालनमा ल्याउन अहिलेसम्म कसैको ध्यान गएको छैन । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्ड पनि लगातारको वर्षाका कारण अवरुद्ध भएको महासचिव हिङ्माङले बताए ।

हिउँदको समयमा जिल्लाका दश वटै स्थानीय तहमा यातायात सञ्चालन भएपनि अहिले दिक्तेल–काठमाडौं र दिक्तेल–इटहरी–विराटनगर सडक खण्डमा मात्र सवारी साधन सञ्चालनमा रहेको छ ।

सगरमाथा राजमार्ग अन्तरगत तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक खण्डसमेत अवरुद्ध भएकाले आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ ।

प्रतिक्रिया