‘प्राधिकरणले अब २ हजार मेगावाटका आयोजना अघि बढाउँछ’

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले २ हजार मेगावाटका ठूला आयोजनाअघि बढाएको बताएका छन् । शुक्रबार प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रवन्ध निर्देशक घिसिङले प्राधिकरणले २ हजार मेगावाटका ठूला आयोजनाअघि बढाएको बताएका हुन् । उनले प्राधिकरणले ठूला आयोजना सुरु गरेन भन्ने भ्रम चिर्न २ हजार मेगावाटको आयोजनाबाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत् प्राधिकरणले पाउने बताए ।

घिसिङले अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको बताए । ‘आगामी दिन विद्युत् प्राधिकरण र ऊर्जा क्षेत्रको एकदमै उज्ज्वल छ, विद्युत् प्राधिकरणले ठूला आयोजना सुरु गरेन भन्ने आरोप लगाउँथे, प्राधिकरणले अहिले करिव २ हजार मेगावाटका ठूला आयोजना अगाडि बढाएको छ, दुई हजार मेगावाटको आयोजनाअघि बढ्दै गर्दा अर्को एउटा ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत् प्राधिकरणले पाउँदैछ,’ घिसिङले भने ।

उनले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्न सक्ने ट्रान्सलेशन लाइन बनाउने तर्फ प्राधिकरण बढिरहेको बताए । घिसिङले इलेक्ट्रिकल भेकल र कुकिङ लगायतका विभिन्न क्षेत्रमा विद्युत् खपतको माग बढाउने बताए । उनले विद्युतको खपत बढाउन प्रशारण लाइन सुदृढीकरणको काम भइरहे पनि अदालतको आदेश र स्थानीयको अवरोधका कारण तीव्र गतिमा काम हुन नसकेको गुनासो गरे ।

प्रतिक्रिया