पद्यश्री प्रदान

काठमाडौं । यस वर्षको पद्यश्री साधना सम्मान र पद्यश्री साहित्य पुरस्कार प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सम्मान र पुरस्कार क्रमशः भजनशिरोमणि भक्तराज आचार्य र मोक्षभूमि उपन्यासका लेखक केशव दाहाललाई प्रदान गरेको हो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले २०६२ सालमा स्थापित यस पुरस्कार यात्राले १६ वर्ष पार गरेको सुनाए । उनले शक्ति र सत्ता क्षणिक हुने तर साहित्य कालजयी हुने बताए ।

उनले भने, ‘गायक संगीतकार तथा गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई साधना सम्मान र सिंजा खस साम्राज्यमा भएको दासप्रथाबारे लेखिएको उपन्यास मोक्षभूमिलाई पद्यश्री साहित्य सम्मान अर्पण गर्न पाउँदा हामी निकै हर्षित छौं ।’ आगामी वर्षका लागि पुरस्कार छनोटको निर्णायक समितिको नाम अध्यक्ष लामिछानेले नाम सार्वजनिक गरे । उनले साहित्यकार कुमारी लामा, नयनराज पाण्डे र समालोचक राम लोहनी समितिमा रहने जानकारी दिए ।

उनले आगामी वर्षदेखि संस्थाले समाजसेवामा विशिष्ट योगदान पु¥याएका एक व्यक्तिलाई पद्यश्री सेवा सम्मान प्रदान गरिनेसमेत घोषणा गरे । सो कार्यक्रममा सम्मानित व्यक्तित्व भक्तराजको मन्तव्य उनका छोरा तथा गायक सत्यराज आचार्यले सुनाएका थिए । आचार्यले ठूलो धनराशीको पुरस्कार पाउँदा बुवा निकै खुसी भएको सुनाए । यस्तै, उपन्यासकार केशवले थाहै नपाई आफू लेखक भएको बताए । उनले आफू राजनीतिक अभियन्ताको रुपमा चिनिए पनि साहित्यमा थाहा नपाइ लागेको सुनाए । उनले भने, ‘सायद पहाडी जिल्लामा हुर्किएको, बिहान मकालु हिमाल देखेको, प्रकृतिलाई नियालेको देखेर म हिमाल, पहाड र नदीका कविता लेख्ने भए हुँला ।’ उनले पुरस्कारले आफूलाई लेखनको बाटोमा हिँडाइराख्न उत्प्रेरणा मिलेको बताए । उनले पुरस्कारले दिएको गरिमालाई सधैं कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया