यी हुन् गिनिज बुकमा नाम लेखाउने विश्वकै अग्ली महिला

एजेन्सी । टर्कीकी रुमेसा गेल्गी संसारकै सबैभन्दा अग्ली महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । ७ फुट अग्ली रुमेसालाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले औपचारिक रुपमा विश्वकै अग्ली महिलाको कीर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो । टर्कीको काराबुक प्रान्तकी गेल्गीको सरीरको उचाइ ७ फिट ०.७ इन्च रहेको छ । रुमेसाको सरीरको उचाइ धेरै हुनुको कारण चाहिं उनमा रहेको दुर्लभ रोग हो । वास्तवमा Weaver Syndrome भनिने रोगका कारण उनको जिउको उचाइ तीव्र गतिमा बढेको हो ।

दुर्लभ स्वास्थ्य समस्याका कारण सिर्जित आफ्नो असामान्य शारीरिक अवस्थालाई गेल्गीले प्रेरणाको रुपमा लिएकी छिन् । उनी भन्छिन्– हरेक असुविधाहरुलाई तपाईंको लागि सुविधामा परिणत गर्न सक्नुहुन्छ त्यसैले तपाईंले आफूजस्तो हुनुहुन्छ त्यसैलाई स्विकार्नु पर्दछ । आफ्नो क्षमताका बारेमा जानकार हुनुहोस् र आफ्नो तर्फबाट अधिकतम प्रयास गर्नुहोस् ।

गेल्गीले सन् २०१४ मै विश्वकी सबैभन्दा अग्ली जीवित किशोरीको रुपमा पहिलोपटक गिनिज बुकमा नाम लेखाएकी थिइन् । त्यसयता उनले आफ्नो जस्तै विभिन्न दुर्लभ तथा जटिल स्वास्थ्य समस्या भएका मानिसहरुको हीतमा पैरवी गर्नका लागि आफ्नो प्लाटफर्म प्रयोग गर्दै आएकी छिन् ।

प्रतिक्रिया