कलामा सक्रिय जुलुमलाल

संवेगको सिर्जनात्मक प्रस्तुति कला हो । जीवन र जगत्का शाश्वत् सत्यलाई रुप वा आकृतिमा उतार्नु पनि कला हो । आशा, भरोसा, निराशा, दुःख, सुख, करुणा, दया, माया, हर्ष आदिको संवेगात्मक प्रस्तुति कलामार्फत नै हुन्छ । संस्कार, संस्कृति, सभ्यता, आचारण आदिलाई दीर्घकालसम्म चीरस्थायी बनाउने र चिनाउने माध्यम पनि कला नै हो । परम्परा, इतिहास तथा मानवीय जीवनका यावत् पक्षलाई सम्बोधनसमेत कलामार्फत नै हुन्छ । यही कलामा कलाकार जुलुमलाल चित्रकारले आफूलाई साढे छ दशकदेखि समर्पण गर्दै आइरहेका छन् ।
वि.सं. २००२ साल असार ९ गते हौगल टोल पाटन ललितपुर (ललितपुर महानगरपालिका–१८) मा जन्मिएका कलाकार जुलुमलालले नेपाली कलामा आधुनिक, परम्परागत तथा लोककलामा आफ्नो पहिचान बनाउन सफल भएका छन् । उनका हजुरबा पूर्णलाल चित्रकार, बुवा मानिकलाल चित्रकार पनि नेपाली कलाक्षेत्रमा परिचित व्यक्तित्व थिए । उनी बुवा मानिकलाल र आमा लक्ष्मीमायाको प्रेरणा र प्रोत्साहनले कलाक्षेत्रमा लागेका हुन् । पारिवारिक माहोल नै कलामय भएकाले उनले सानैदेखि यसैमा रम्ने अवसर पाए । घरभित्र तथा बाहिर जहाँ गए पनि कलाकै वातावरण पाएका जुलुमलाललाई बुवाको अभिभावकीय सिकाइले निकै सहयोग मिल्यो ।

काठमाडौं उपत्यकामा कला र संस्कृतिको विकास र जनचेतना विशिष्ट रहेको छ । विशेष गरी नेवार समुदायमा प्रचलित लोककलामा विशेष दख्खल राख्ने जुलुमलालले जुद्धकला पाठशालाबाट कला प्रवीण गरेका छन् । उनले आइएसम्मको अध्ययनसमेत गरेका छन् । परम्परादेखि माटोको मुखुण्डो बनाउने, दशकर्म पूजाआजामा प्रयोगका लागि चित्रकला बनाउने पारिवारिक पृष्ठभूमिबाट उनी कलाक्षेत्रमा प्रवेश गरेका हुन् । उनी १० वर्षको उमेरसम्म मामाघर बसे । ११ वर्षको उमेरदेखि आफ्नै बुवाको घरमा बस्न थालेका उनले कलाकर्मसँगै पढाइलाई पनि सँगसँगै लगे । उनी नेपाल सरकारको निजामति सेवामा ४० वर्ष सेवारत् रही अवकाशप्राप्त हुन् । यस्तै, ४० वर्षदेखि उनी पासा आर्ट वर्कसप सञ्चालन गर्दै आएका छन् । जहाँबाट उनले लोककला, व्यवसायिक कला तथा अन्य सिर्जनात्मक कला रचना गर्दै आएका छन् ।


उनको कलायात्रा २०१४ सालदेखि औपचारिक रुपमा भएको हो । उनलाई बुवाआमासँगै कलामा लाग्ने प्रेरणा मामाबाजे तेजबहादुर चित्रकारबाट मिलेको हो । उनका कलागुरु पनि तेजबहादुर नै हुन् । उनको सिर्जना यात्रा बुवा र दाजुले रचना गरेका कलाकृति हेर्दाहेर्दै सुरु भएको हो । उनले पहिलो पटक श्रीकृष्णको चित्र बनाएको सुनाए ।

उनी ललितकला संंस्था (नाफा) को पूर्वसदस्य, नेपाल कलाकार समाजको दोस्रो कार्यसमिति २०४५ को सदस्य, नेपाल परम्परागत कलाकार संघको पूर्वकार्यसमिति सदस्य, नेपाल ललितकला परिषद्को सचिव, क्यानभास (कला संस्था) को पूर्वकार्यसमिति सदस्य, अखिल नेपाल ललितकला संघको केन्द्रीय सदस्य, नेपाल कमर्शियल आर्टिस्ट संघको सल्लाहकार, नेपाल निजामति कर्मचारी संगठनको पूर्वकार्यसमिति सदस्य, नेपाल भाषा मंकाःखलः यलको पूर्वअध्यक्ष, साहित्य गुथि यलको अध्यक्ष, चित्रकार (पुँ) समाजको पूर्वउपाध्यक्ष, नेपाल बुद्धिजीवी परिषद् ललितपुर जिल्ला पूर्वसहसचिव, युवक बौद्ध मण्डल नेपालको पूर्वउपाध्यक्ष, इसिआरएफम बाँडेगाउँ ललितपुरको बोर्ड सदस्य, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकासको पूर्वबोर्ड सदस्य लगायतका संघसंस्थामा रहेर उनले कला तथा सामाजिक क्षेत्रमा योगदान दिइरहेका छन् ।

काठमाडौं उपत्यकामा प्रचलित लोककलामा पारंगत जुलुमलालले देश विदेशमा भएका सामूहिक कला प्रदर्शनीमा दर्जनौं पटक भाग लिएका छन् । यस्तै उनले राष्ट्रिय कला प्रदर्शनीमा सहभागी हुँदै छनोट तथा निर्णायक समितिमा बसेर आफ्नो भूमिकासमेत पूरा गरेका छन् । विशेषतः लोककलाका क्षेत्रमा काम गर्दै आएका उनले मौलिक कलाको विकासविना राज्य समृद्ध बन्न नसक्ने विचार व्यक्त गरे । उनी भन्छन्, ‘मल्लकालको राज्यव्यवस्था व्यवस्थित तथा सुसंगठित ढंगबाट सञ्चालनको लागि प्रजागणले गर्दै आएका कामहरु जातजातिका नाममा विभाजन गरियो । जस्तै, तामा पित्तलको काम गर्नेलाई ताम्राकार, राँगा काटमार गरी बेचविखन गर्नेलाई खड्गी भनियो । सर्वसाधारण लुगा धुने काम गर्नेलाई धोवी, यसरी नै दशकर्मको पूजाआजा तथा विभिन्न धार्मिक सांस्कृतिक, सामाजिक क्षेत्रमा रंगरोगन, देवदेवीको चित्र लेख्ने लोककलामा कार्यरत् जाति (पुँ) चित्रकारमा दर्ज गरियो ।’ उनले सामाजिक, धार्मिक, सांस्कृतिक तथा चाडपर्वमा चाहिने चित्र जुन परम्परादेखि चलिआएका छन् तिनको रचना गर्ने काममा चित्रकार समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको ऐतिहासिक विरासत रहेको जनाए । यसै विरासतलाई कलाकार जुलुमलालले विगत ६ दशकदेखि निरन्तर रुपमा धान्दै आएका छन् ।

काठमाडौं उपत्यकामा गाईजात्रा, नागपञ्चमी, विभिन्न संस्कारजन्य कार्य, सप्ताहाm नवाहा लगायतका धार्मिक प्रयोजनमा चित्र बनाउने प्रचलन छ । यी कला बनाउने कार्यमा जुलुमलालको परिवारले पुस्तौदेखि काम गर्दै आएको छ । आफ्नो चित्रप्रतिको अनुरागसँगै पुस्तौदेखि चलिआएको परम्परालाई कलाकार जुलुमलालले निरन्तर पेसा र कर्मका रुपमा अँगालिरहेका छन् । एक पुस्ताबाट अर्कोे पुस्तामा पुस्तान्तरण हुँदै आएको कला परम्परालाई धान्दै आएका कलाकार जुलुमलालले भैरव, भिमसेन, कुवेर, नाग, लक्ष्मी, सरस्वती, अष्टमंगल, पञ्चबुद्ध, पञ्चदेव, विष्णु, शिव, पार्वती लगायतका विभिन्न देवदेवी तथा तान्त्रिक देवदेवीका चित्र बनाउँदै आएका छन् । उनका कलामा भेटिने सांस्कृतिक, सामाजिक, धार्मिक तथा संस्कारका विषय जनमानसको जीवन र पद्धतिसँग अन्तरसम्बन्धित छन् ।


पछिल्लो समय यस कलाप्रति सबै जात र क्षेत्रका मानिसको आकर्षण बढ्दै गएको छ । परम्परागत कला हुँदै लोककलाको रुपमा समाजमा प्रचलित कलाको बेग्लै विशेषता रहेको छ । मौलिक कलाको रुपमा परिचित यो कला शास्त्रीयतासँग जोडिए पनि कलाकारले त्यसको मर्म बुझेर कला बनाउन सक्छन् । नेपालमा वर्षभरी नै विभिन्न साना ठूला चाडपर्व आइरहन्छन् । नेपाली सुुसंस्कृत छन् । सयौं जातजाति बसोबास गर्दै आइरहेका छन् । नेवार समाजमा चित्रकार समुदायले चित्रकलासम्बन्धी काम परम्परादेखि गर्दै आएको पेसा हो । जुलुमलालले नेवार समाजमा प्रचलित विभिन्न संस्कार, चाडपर्व, जात्रा, विवाह, व्रतबन्ध, पासनी आदिमा चित्र बनाउने प्रचलन छ । कलाकार जुलुमलालले यज्ञादि तथा लोकपरम्परामा आधारित रहेर चित्र रचना गर्दै आएका छन् ।

नेवारले पहिलो चाडपर्वको रुपमा श्रावण कृष्णचतुर्दशीका दिनलाई ‘गथांमुग’ (गथेमंगल) चाडपर्व मनाउँछन् । गथेमंगल देवताको नामै सुन्न नचाहने एक डरलाग्दो नरमक्षि राक्षस हो । त्यो दिन चित्रकारले अर्डरअनुसार नाग्लोमा मादल लगाएर नेपाली कागज टाँसी दुवै कानमा घण्टी भएको नीलवर्ण, आँखा रातो दाह्रा किटेको रिसले चुर त्यस राक्षसको मुखाकृति लेखिदिने चलन छ । नरकटले बनाएको उक्त राक्षस शरीरमा नाग्लो चित्र टाँसिन्छ । सोही दिन राति उक्त राक्षसलाई आगोमा झोसी लडाएर हा..हा… र हु…हु….गर्दै पिटपाट गरी नजिकको नदीमा लगि सेलाइन्छ ।

श्रावण पञ्चमीका दिन ५–६ महिना अगाडिदेखि काठको ब्लकमा कालो पोती सेतो कागजमा छापेको नागचित्र पञ्चमीको ४–५ दिनअघिदेखि नै बेच्न लगिन्छ । त्यस्तै, तिहारमा लक्ष्मीको चित्र बेच्नुका साथै वर्षभरी नै दशकर्मसम्बन्धी विवाह, व्रतबन्ध, पासनी आदि यज्ञादि कार्यको लागि आवश्यक चित्र विधिसंवत ढंगले तयार पारिन्छ । यस कार्यमा कलाकार जुलुमलाल वषौंदेखि लागिरहेका छन् । लोककलाको विकास र प्रवद्र्धनका लागि राज्यले नीतिगत रुपमा काम गर्नुपर्ने धारणा राख्दै कलाकार जुलुमलालले नेपालमा पूर्वदेखि पश्चिमसम्म विभिन्न प्रकारका लोककला प्रचलनमा रहेको बताउँछन् । उनका अनुसार पूर्वमेचीदेखि पश्चिममा महाकालीसम्म लोककला विभिन्न बस्ती तथा स्थानमा छरिएर रहेका छन् । हिमाल, मधेस तथा पहाडका कलाप्रेमी कलाकार तथा विभिन्न जातजातिले यसलाई प्रयोग र संरक्षण गर्दै आएको देखिन्छ ।

नेपाली लोककला परम्परागत कलामा जुलुमलालको काम र योगदानको जति चर्चा गरे पनि अधुरै रहन्छ । उनले विगत छ दशकदेखि यसक्षेत्रमा आफूलाई जोड्दै र सामाजिक रुपमा प्रचलित विभिन्न संस्कारिक कार्यका लागि चित्र बनाउँदै आएका छन् । कलाकार जुलुमलालले श्रीगणेश, श्रीभिमसेन, स्थलगत गाउँबस्तीका चित्र, महात्मा गान्धी, पण्डित जवाहरलाल नेहरु, राजा महेन्द्र, बौद्धनाथ, स्वयम्भुनाथ, पशुपतिनाथ मन्दिर, टेबाल काठमाडौंस्थित संकटा देवताको पर्दा (घर्की) ११ वटा, बज्राचार्य गुथि स्वयम्भुको रत्नमण्डल, तत्कालीन बेलायती प्रधानमन्त्री विल्सन चर्चिल, प्यागोडा शैलीका मन्दिर आदिलाई चित्रमा उतारेका छन् । यस्तै, जनैखटिरामा सिंह लेख्ने परम्परागत कार्यमा समेत उनी संलग्न हुँदै आएका छन् ।

उनले दशकर्म अन्तर्गत बनाएका चित्रमा साख्वाः गाईजात्रा, लक्ष्मी तथा नाग, नासल देवता अगाडि राख्ने नासःधर्की (पर्दा) आगं धकीं, आकाश भैरव, अष्टमातृकाः सिंगिनी, गणेश, विष्णुवी, इन्द्रायणी, बम्हयाणी, भैरव, कुमारी तथा श्वेतकाली आदिका चित्र बनाएका छन् । यस्तै, ढोकामा टाँसिने (लुखाद्वा) बौद्धमार्गी तथा शिवमार्गी, दशैंका लागि भगवतीको लुखाद्वा, चित्ला देवताको त्रिनेत्र, कुभिण्डोमा मैसासुर दैत्यको चित्र, गरुडनारायण, बालिका गुफा राख्दा प्रयोगका लागि मोझी, सलापा, माटोका घ्याम्पामा अष्टमंगल तथा हात मिलाएको चित्र, घरको धुरीमा राख्ने चक्रचित्र, कपडामा सत्यनारायण, चिन्हाँमा गणेश, बच्चालाई तेल लगाइ घाममा राख्दा ३ वटा नर्कट जोडी बनाएको स्टायण्डमा घाम छेक्न कपडा राखिन्छ । भित्र माथि चन्द्र सूर्य दुवैतिर लेखेको रंगीन चित्र हल्ले हेरेर बच्चा रमाउँछ । यसले बच्चाको आँखा सिधा पार्ने काम गर्दछ ।

उनले वृद्धाको पासनीमा माटोका भाँडाहरुमा लेख्ने चित्रहरुमा अष्टमंगल, यक्ष, यक्षणी, नाग, कमलको फूल, नीलकमल, चन्द्रसूर्य, सिन्हमू (सिन्दुर राख्ने) ज्वला न्हाय्कं (ऐना), बज्र, त्रिशुल, नदी, पुस्तक आदि रहेका छन् । यसैगरी कलाकार जुलुमलालले कागजमा ४ वटा महाराज, ४ वटा घोडा, ४ वटा हाँस, आठ वटा गरुड, अष्टंमगल, ध्वार्ये (झण्डा) आदिका चित्र बनाएका छन् । यस्तै उनले बनाएका प्रारम्भिक कालका कलाकृतिको विषय प्रस्तुति, शैली र ज्ञानलाई हेर्दा हिन्दु बौद्ध धर्ममा आधारित चित्र अधिक बनाएको पाउँछौ ।

प्रतिक्रिया