ठेक्का भए पनि काम सुरु नहुँदा विद्युतीकरणमा ढिला

जाजरकोट । डोल्पामा ११ केभी प्रसारण लाइन पुर्याउन अघिल्लो आर्थिक वर्षमा ठेक्का भए पनि काम सुरु हुन सकेको छैन । झण्डै सात करोडको ठेक्का अघिल्लो वर्ष खोलिएको तर काम सुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सुरेन्द्र अग्रहरिले बताए । जाजरकोट नलगाड नगरपालिकाको चौखा स्टेसनबाट डोल्पाको त्रिपुराकोटसम्मको कामको ठेक्का लिए पनि काम नगर्दा समस्या भइरहेको उनले बताए । त्यसको लम्बाइ झण्डै ४२ किलोमिटर छ । नमुना कन्स्ट्रक्सन रामेछापले ठेक्का लिएको उनले बताए । लाइन विस्तार भन्दा पहिला गरिने प्रि–कन्स्ट्रक्सन सर्भेका लागि काम भए पनि सो काम त्रुटीपूर्ण भएपछि फेरि गल्ती सच्याउन तीन महिनाअघि पत्र लेखिएको उनले जानकारी दिए ।

सर्भे गर्दा गल्ती भएको ठाउँमा सच्याइ तुरुन्तै काम गर्न आग्रह गरिएको तर ठेकेदार सम्पर्कमा नरहेको प्रमुख अग्रहरिले बताए । कोभिडको कारण देखाउँदै काम नगरेको निर्माण व्यवसायीलाई तुरुन्तै काम गर्न कार्यालयबाट ताकेता भइरहेको उनले जानकारी दिए । जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीसम्म ११ केभी प्रसारण लाइन पुगिसकेको छ । त्यहाँबाट चौखासम्मको विद्युत् प्रसारण लाइनको कामसमेत भइरहेको छ । जाजरकोट तर्फको पूरा काम भएमा मात्र डोल्पासम्म विद्युतीकरण गर्न बाटो खुल्ने देखिन्छ । प्रदेश कार्यालयबाट त्रिपुरोकोटमा सब स्टेसन निर्माण गर्ने योजना रहेको छ ।

त्यस्तै जाजरकोटको बडाबन र समाइलामा तिहारलगत्तै बोलपत्र हुनेछ । जाजरकोटको बारेकोट, कुशे र जुनिचाँदेमा लाइन विस्तारका लागि ठेकेदारको लापरवाहीका कारण काममा बाधा उत्पन्न भएको छ । केही योजना केन्द्र र केही योजना प्रदेशबाट हुँदा काममा निगरानी कम भएको बताइएको छ ।

प्रसारण लाइन छिटो डोल्पा पुगेमा त्यहाँ निर्माण हुन लागेको जगदुल्ला हाइड्रोपावरको कामलाई समेत सहयोग पुग्ने देखिन्छ । अन्य सम्भाव्यता अध्ययन भइरहेका भेरी ‘ए’, ‘बी’ र ‘सी’ आयोजनाको समेत काममा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला र कालीकोट राष्ट्रिय प्रसारण लाइनको पहुँचमा जोडिएका छन् । कार्यालयका अनुसार प्रदेशभर सबैभन्दा बढी रुकुम पश्चिमका ७५ दशमलव २ र सबैभन्दा कम जाजरकोटमा १६ दशमलव १५ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा पुगेकोे बताइएको छ  ।

कार्यालय प्रमुख सुरेन्द्र अग्रहरिका अनुसार सुर्खेतका ४८ दशमलव १६, दैलेखका ४८ दशमलव ७३, कालीकोटका ४३ दशमलव ५७, मुगुमा १९ दशमलव ६४ र हुम्लाका २९ दशमलव ६९ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच छ । यस्तै, सल्यानका ५२ दशमलव ८८, डोल्पाका २१ दशमलव ९ र जुम्लाका १९ दशमलव ३ प्रतिशत घरधुरी विद्युत्को पहुँचमा छन् । कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा कर्णालीलाई अँध्यारोमुक्त बनाउने भन्दै ‘कर्णाली उज्यालो कार्यक्रम’ सुरु गरेको थियो ।

प्रतिक्रिया