विश्व

अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसंघसँग पाकिस्तानी प्रधानमन्त्रीको माग

सौर्य अनलाइन २०७८ असोज ९ गते १७:३८ मा प्रकाशित

इस्लामावाद । अफगानिस्तानलाई सहयोग गर्नेगरी संयुक्त राष्ट्रसंघले सबैलाई परिचालन गर्न पाकिस्तानले माग गरेको छ । राष्ट्रसंघको ७६औँ महासभालाई सम्वोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो माग गरेका हुन् ।

अफगानिस्तनमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेर सरकार बनाएपछि विभिन्न सङ्कट उत्पन्न भएपनि धेरै देशले सहयोग नगरेकाले राष्ट्रसंघले सवैलाई परिचालन गर्नुपर्नेमा खानले जोड दिएका थिए ।

प्रधानमन्त्री खानले विषेशगरी आर्थिक सहयोग अफगानिस्तानका लागि अत्यावश्यक भइसकेकाले राष्ट्रसंघले अन्तरराष्ट्रिय समुदायलाई परिचालन गर्नुपर्ने धारणा राखेका थिए ।

‘अफगानिस्तानलाई सहयोग गर्न विश्वसँग समय छैन, धेरै ढिला भइसकेको छ, त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु,’ प्रधानमन्त्री खानले भने । मानवीय सहायत उपलब्ध गराउन अझै ढिला गरेमा विश्वलाई नै लज्जित गराउनेगरी नराम्रो क्षती हुने चेतावनीसमेत उनले दिए ।

उनको सम्बोधनपछि पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा अफगानिस्तान र अफगानी जनताका बारेमा बेवास्ता गर्न नहुनेमा खानले जोड दिएको उल्लेख गरिएको छ ।

‘हामीले उनीहरुलाई सहयोग गर्न हेलचक्रयाई गर्यौँ भने अहिले नै आधा मानिस गरिवीको रेखा मुनी छन्, अर्को वर्षसम्ममा ९० प्रतिशत मानिस गरिव हुन्छन्,’ प्रधानमन्त्री खानले भनेका छन् ।

अहिले पनि भोकभरी सुरु भइरहेको र तत्काल सहयोग नगरेमा भोकमरीको महामारी नै चल्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।अफगानिस्तानको डरलाग्दो र दया लाग्दो अवस्थाका बारेमा छिमेकी र विश्व समुदायले कुनै चासो नदिएकोमो आफुलाई दुखित र अचम्मित बनाएको उनको भनाइ छ ।

अफगानिस्तानमा उत्पन्न सङ्कट छिमेकी देशका रुपमा पाकिस्तानको चासो र चिन्ताको मात्रै नभइ विश्वकै चासो र चिन्ताको विषय भएको भन्दै उनले सबैको ध्यानाकर्षण गराएका छन् ।

‘सैन्य शक्तिमार्फत समस्याको समाधान गर्न खोजियो, त्यो गलत थियो र असफल पनि भयो, अव पनि त्यस्तो गल्ती नहोस्, शान्तिपूर्णरुपमा समस्याको समाधान खोजौँ, सङ्कट निवारण गरौँ, अत्यावश्यक सहयोग उपलब्ध गराउन ढिला नगरौँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय