सुडानमा ‘कू’को प्रयास असफल

सुडान । सुडानका अधिकारीहरुले मंगलबार सैनिकको एउटा समूहले कू गर्ने असफल प्रयास गरेको बताएका छन् । उनीहरुका अनुसार अहिले अवस्था सेनाकै नियन्त्रणमा छ । सुडानको सरकारी टेलिभिजनले आम नागरिकलाई कूको प्रयासको प्रतिरोध गर्न आग्रह गरेको छ । यद्यपि यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।

‘अहिले सबै नियन्त्रणमा छ । क्रान्ति सफल भएको छ’, सेना–नागरिक परिषद्का एक सदस्य मोहम्मद अल फाकि सुलेमानले सामाजिक सञ्जालमा भनेका छन् । सेनाका अधिकारीले सेनाकै केही समूहले कूको प्रयास गरेको बताएका छन् । उनीहरुले केही सरकारी संस्थालाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरेपनि उनीहरुलाई रोकिएको बताएका छन् ।

आफ्नो नाम नबताउने शर्तमा एक अधिकारीले शीर्ष स्तरका केही अधिकारी पनि पक्राउ परेको बताएका छन् । यस विषयमा सेनाले विज्ञप्ति जारी गर्दै विस्तृत जानकारी दिने तयारी गरेको छ । यद्यपि सुडानको सवारीसाधनको आवागमनमा भने त्यस्तै कुनै असर नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

२०१९ मा सुडानमा चार महिनाको प्रदर्शनपछि सेनाले तानाशाही शासक ओमर अल बसिरलाई सत्ताबाट हटाएको थियो । अहिले आम नागरिक र सैन्य प्रतिनिधिसहितको संक्रमणकालीन सरकारले सुडानको सत्ता सम्हालिरहेको छ । सुडानमा पूर्णरुपमा आम नागरिकको सरकार ल्याउने प्रयास चलिरहेको छ ।

प्रतिक्रिया