मैनालीले ल्याए ‘सती’

काठमाडौं । लेखक सुजित मैनालीले लेखेको अनुसन्धानात्मक पुस्तक ‘सती : इतिहास र मीमांसा’ बजारमा आएको छ । नेपालको सती प्रथाबारे लेखिएको पुस्तकमा यसको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक विषयलाई उधिन्ने प्रयास गरेको छ । सती प्रथा र यसले पारेको सामाजिक तथा मनोवैज्ञानिक परिणामलाई पुस्तकमा केलाउने कोशिस गरिएको छ । नेपालमा लिच्छवी राजा मानदेवको समयदेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरसम्म लोग्नेको मृत्यु भएपछि पत्नी सती जानैपर्ने कठोर सामाजिक चलन थियो । यो प्रथालाई १९७७ सालमा चन्द्रशमशेरले अन्त्य गरेका थिए । पतिको मृत्यु भएसँगै पत्नीले उसको शवसँगै जलेर प्राण त्याग्नुपर्ने प्रथालाई सती भन्ने चलन छ ।

लेखक मैनालीले नेपाल र भारतको सतीप्रथाबारे सात वर्ष अध्ययन–अनुसन्धान गरेर पुस्तक तयार पारेको सुनाए । उनले भने, ‘समाजशास्त्रका किताब पल्टाउँदै जाँदा महशुस भयो कि इतिहास र त्यसको लैंगिक पाटो बुझ्न सकेमात्र समाजको नसनाडी राम्ररी छाम्न सकिँदो रहेछ ।’ आठवटा अध्याय रहेको पुस्तकमा ४२ वटा परिशिष्टमा छन् । जसमा किंवदन्ती, अनुश्रुति र अभिलेखका विवरण राखिएको छ । लेखक मैनालीले पुस्तक तयार पार्नेक्रममा सतीको नामसँग जोडिएका स्थलको अवलोकनसँगै थुप्रै अन्तर्वार्तासमेत लिएको जनाएका छन् । यस पुस्तकलाई किताब पब्लिसर्सले प्रकाशन गरेको हो । यसअघि उनको ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया