ओमान १२१ रनमै अलआउट

काठमाडौं । तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपाललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा ओमानले १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान मकसुद बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालको घातक बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

करणको तेस्रो ओभरको चौथो बलमा स्कुपसट खेल्नेक्रममा एज लागेर ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट हुन पुगेका थिए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानले लगातार विकेट गुमाएको थियो । करणको सातौं ओभरको पाँचौ बलमा टप एज लागेर डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद चार रनमा सुशान भारीबाट क्याच आउट हुन पुगे । नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गर्दै ओमानलाई ३०–३ को अवस्थामा पुर्याए । त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले ओमानको ब्याटिङ ध्वस्त बनाएका थिए ।
सन्दीपले ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमलाई चार रनमा एलबीडब्लू आउट गरे । सन्दीपलेनै १४ औं ओभरको चौथो बलमा नेपाली मुलका विकेटकिपर सुरज कुमारलाई शून्यमा बोल्ड आउट गरे । लगत्तै सन्दीप अर्को बलमा नेस्टर धम्बालाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । अन्तिम बलम सन्दीप गौडले ह्याट्रिक हुनबाट रोके ।

त्यसपछि पार्टटाइम स्पिनर शरद भेषावकरले दुई विकेट लिँदै ओमानलाई कम योगफल नजिक पुर्याएका थिए । शरदको २२ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्दीप गौडे सुशान भारीबाट ८ रनमा क्याच आउट हुन पुगे । ओडिआईमा शरदको यो पहिलो विकेट हो । शरदको ३० औं ओभरको चौथो बलमा ठूलो सट खेलेका नसीम खुसी १२ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । तल्लोक्रमका कलिमुल्लाह १२ विलाल खानले ९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया