शान्ति ढकाल
दसैँ आउँदै छ । छोरालाई त मालसिरी धुनतिर व्यस्त बनाउन सकिएला तिहारका देउसी भैलीसँग पनि ऊ भुल्न सक्छ । छोरीलाई पो संस्कृतिसँग कसरी नजिक्याउने होला । उसलाई नेपाली संगीत र संस्कृतिको स्वादमा पल्काउनै सकिएन । कोरियाली संगीत र अंग्रेजी गीतमा मोहित हुन्छे, छोरी ।
कौसीको ढोका खोलेर बाहिर के निस्कन लागेकी थिएँ, चिसो समुद्री हावाले कान समात्यो, मुटु कठ्यांग्रियो । सेप्टेम्बर महिनाको उत्तरार्ध भइसक्यो तै पनि जाडोले छोड्दै छोडेन । सिड्नीको नाम स्याँठनी राख्नुपर्ला जस्तो छ । दुई महिना हुन लागिसकेको थियो, ग्यास्टिकको समस्याले ग्रस्त बनाएको । दूधचिया पिउन छाडिसकेकी थिएँ । आज पिऊँ–पिऊँ भयो । ह्या जे सुकै होस्, पिइदिन्छु भनेर भान्छामा पसेँ । चिया पकाएँ । लकडाउनको ह्याङले दिन कटाउन साहै्र गाह्रो भाछ । भित्र बस्नै मन लागेन । हातमा तातो चियाको कप लिएर फेरि बाहिर निस्किएँ बार्दलीमा । चियाको चुस्कीसँगै मनमा अनेकाैं कुरा खेल्न थाले ।
ओहो ! लगभग तीन महिना पो हुन लागिसकेछ, बच्चाहरू घरै बसेका । गत वर्ष जुनको अन्त्यतिर स्कुल होलिडे भएदेखि नै स्कुल त खुलेकै पो छैन नि त, घरैबाट अनलाइन क्लास बसिराछन्, बिचराहरू, हुँदाहुँदै अर्को हप्ता फेरि सर्ट भ्याकेसन आइसक्यो । त्यसपछि त स्कुल खुल्ला कि भनेको खुल्लाजस्तो छैन, यस्तै हो भने त यो वर्षको स्टडी घरबाटै गराउनुपर्ला जस्तो छ, यस्तो अवस्थामा वच्चाहरूको हालत के भइराखेको होला त, हामी ठूला र बुझ्ने मान्छे त छटपटिएका छौँ भने यी त कलिलै छन् । खेल्ने, दौडने र रमाउने उमेर । झ्यालखानामा कोचिएका छन् , बच्चाहरू । यिनका दिमागमा के–के परिरहेको होला ? साँघुरो कोठाभित्र कोचिएका छन्, बिचराहरूलाई कति अत्यास लाग्दो होला ? हुन त गत वर्ष पनि भएको थियो, यस्तै लकडाउन । तर, त्यति बेला अनलाइन कक्षा थिएन । बच्चाहरूलाई भर्चुअल संसारबाट टाढा राख्न भरसक प्रयास गरियो । सम्भव भएन ।
इनडोर गेम चेस, लुडो, क्यारमबोर्ड इत्यादिको प्रबन्ध पनि गरियोस खेलायौँ आफूसँगसगै घरको काममा व्यस्त बनायौँ । टाढा रहनुभएका आफन्तसँग यथासम्भव नजिक बनायौँ सामाजिक सञ्चार र सञ्जालबाट । आफूसँगै राखेर घरका काम पनि गरायौँ । सामाजिक सञ्जालका माध्यमबाट बोल्न र अनेक प्रयोगात्मक क्रियाकलाप गर्न लगायौस् आफूले पनि उनीहरूकै उमेरमा ओर्लिएर व्यस्त बनायौँ । जसोतसो गरेर डेढ महिना कटाइयो । बिस्तारै स्कुल खुल्यो । सबै कुरा सामान्य बन्दै गए । एक्कासि कोरोना भाइरसको दोस्रो भेरिएन्ट फैलिन थाल्यो । माहामारीले अचानक भयानक रूप लियो । आखिर जे नहोस्, भन्ने थियो त्यही भइछाड्यो । फेरि बाध्य भइयो, घरभित्रै थुनिन । कोरोनाको संक्रमणसँगै जोखिमहरू पनि थपिए । अनेक बन्देजहरू लगाइए । अतिविशेष कामबाहेक घरबाट निस्किउँला भनेर चिताउनै नपर्ने भयो । अतिविशेष कामका सूचीअनुसार सीमा निकै साँघुरो बनाइएको छ । निर्धारित काममा नगई नहुने व्यक्तिहरू मात्र कार्यालय (घर, निर्धारित पसल अथवा स्वास्थ्य संस्थासम्म) जान पाइन्छ ।
सिड्नीमा अनिश्चतकालीन बन्दाबन्दी छ । हामी त विशेष कामदार हुनाले निस्कन पाउनेमै पर्ने भइहाल्यौँ । सहकर्मी दिदी–बहिनी र दाजुभाइसँग हाइहलो गर्ने नै भयौँ । हामीलाई भुलाउने विकल्पहरूको खासै खाँचो छैनभन्दा पनि हुन्छ । कुरा फेरि भुराभुरीकै आउँछ । नानीबाबुहरू के गर्दै होलान् ? उनीहरू के/के सोच्दै होलान् । नेपालमै भएको भए ठूलो परिवार थियो । फुपू दिदी, काका–काकी, हजुरबा–हजुरआमा सबैलाई साथी बनाउन भ्याउँथे । जिजुहजुरमासमेत हुनुहुन्छ । ९३ वर्षकी हुनुहुन्छ । उहाँका मुखबोला साथी भनेकै पनाति–पनातिना हुन् । उता उहाँहरू एक्लै यता बाबुनानीहरू एक्लै ।
गफगाफसँगै चार पुस्ता जोडिन्थ्यो । पुख्र्यौली परम्पराको अभ्यास पनि हुन्थ्यो । अनलाइन कक्षा भनेको नहुने मामाभन्दा आँखा नदेख्ने मामा नै जाती भनेजस्तै हो । असाइमेन्ट दियो, सकियो, होमवर्क गरे कि गरेनन् ? बुझे कि बुझेनन् ? सबैलाई आफू र आफ्नो पेसा जोगाउनु छ, बस् यत्ति । अभिभावकको चिन्ता र चासो चौबीसै घण्टा बालबच्चातिरै हुन्छ । तै पनि समय व्यवस्थापन गर्नै कठिन, काम गर्न नजाऊँ, मुखमा माड लाग्दैन । जाऊँ, केटाकेटीका चिन्ताले आधामासु भइन्छ । कोरोना त शारीरिक रोग हो । शारीरिक रोग जति सजिलो पत्ता लाग्छ मानसिक रोग लाग्दैन ।
बाबु त संगीतको साधनामा डुब्न पाउँदा पनि रमाउँछ । चित्रकलामा पनि उसको रुचि प्रशस्तै छ । हजरबासँग साहित्यका गफगाफ गरिरहन्छ । नानी चाहिँ लक्ष्यविहीन सामाजिक संजालको छालसँगै बगेर गन्तव्यहीन हुन्छे कि भन्ने चिन्ता छ । दसैँ आउँदै छ । छोरालाई त मालसिरी धुनतिर व्यस्त बनाउन सकिएला तिहारका देउसी भैलीसँग पनि ऊ भुल्न सक्छ ।
छोरीलाई पो संस्कृतिसँग कसरी नजिक्याउने होला । उसलाई नेपाली संगीत र संस्कृतिको स्वादमा पल्काउनै सकिएन । कोरियाली संगीत र अंग्रेजी गीतमा मोहित हुन्छे, छोरी । किशोर अवस्थाका छोरीमान्छेका निष्कपट र अबोध स्वभावलाई दुरुपयोग गरेर समाजमा बाँच्नसमेत नदिने नयाँ–नयाँ गिरोहका दुव्र्यवहार सामाजिक संजालमा बढ्दै गएको तीतो यथार्थले कैयौँ रात अनिँदो हुनुपरेको छ । मोबाइल र कम्प्युटरमा रामराज्य पनि छ र रावण राज्य पनि छ भन्दै ससुरा बुबा पनि चिन्तित हुनुहुन्छ । मैले भेटेका र सुनेका प्रायः बालबच्चाहरूमा प्रायः एउटै समस्या छ । परिवारजन र आफन्तजनभन्दा मोबाइलका खेलमा, फिल्महरूमा, टिकटक आदि ¥यापहरूमा हराउँछन् । समयमा खाँदैनन्, सुत्दैनन् । त्यत्तिकै कराउँछन्, झर्किन्छन् रिसाउँछन् । प्रसन्नता र प्रेमबाट टाढिँदै छन् बालबच्चाहरू । परम्परा र संस्कृतिसँग सम्बन्ध विच्छेद हुँदै छ ।
विकृतिको अम्मल छुटाउन सकिएन भने बालबालिकाको भविष्य अन्धकारमै रहने निश्चित छ । प्रविधिले ल्याएको यो विकराल समस्यातिर संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय संस्थाको ध्यान जानु अनिवार्य छ । सामाजिक संजाल बालमैत्री हुन सकेको छैन । कोरोनाका भेरियन्टभन्दा पनि यो समस्या भयावह हुँदै छ । समाधानको विकल्प अविलम्ब ल्याउनु आवश्यक छ । बालमनोविज्ञानको अनुकूल हुने गरी विकल्प बनाउन विलम्ब नगरियोस् । विश्वका सबै अभिभावकले पनि आ–आफ्नो दायित्व निर्वाह गर्नेतिर समयमै सक्रियता देखाउन सकौँ किनभने बालबालिकाको भविष्य नै हाम्रो वर्तमान पनि हो र भविष्य पनि हो ।
प्रतिक्रिया