उत्तर कोरियाद्वारा क्रुज क्षेप्यास्त्र परीक्षण

सिओल । केही दिनअघि उत्तर कोरियाले जापानसम्म प्रहार गर्न सक्ने लामो दूरीको क्रूज क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषणा गर्यो । बलिस्टिक भनिने प्रकारका क्षेप्यास्त्रको दाँजोमा क्रुज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा मार्ग परिवर्तन गर्न सक्ने क्षमताका हुन्छन् । यो गुणले गर्दा क्रुज क्षेप्यास्त्रहरूले तिनका निसानामा विभिन्न अनपेक्षित कोणबाट आक्रमण गर्न सक्छन् ।

यो पछिल्लो परीक्षणबाट उत्तर कोरियाले परमाणुअस्त्रहरूको प्रयोग गरेर आक्रमण गर्न सक्ने आफ्नो क्षमतालाई विभिन्न तरिकाले बढाउने कार्यलाई निरन्तरता दिइरहेको छ भन्ने देखाएको छ ।कोरोनाभाइरसको महामारी, देशमा विभिन्न चरणको प्राकृतिक प्रकोप, र आन्तरिक आर्थिक अप्ठ्याराहरूको सामना गर्दै रहँदा समेत उत्तर कोरियाले परमाणुअस्त्र क्षमतालाई देशको प्रतिरक्षाको रूपमा प्रयोग गर्ने आधारभूत प्राथिमकतामा परिवर्तन नगरेको स्पष्ट छ ।

क्षेप्यास्त्र परीक्षणले एकभन्दा बढी विभिन्न उद्देश्यहरूलाई सम्बोधन गर्छ । अन्तरिक रूपमा यी परीक्षणहरूले राष्ट्रिय सुरक्षाको अवस्था र देशवासीको मनोबल बढाउनमा देश आत्मनिर्भर छ भनेर नेता किमले भन्ने गरेको दाबीलाई अझ बलियो बनाउन सघाउँछन् । व्यावहारिक रूपमा भन्ने हो भने क्रुज क्षेप्यास्त्रजस्ता युद्धसम्बन्धी नयाँ क्षमताले उत्तर कोरियाका ‘शत्रुहरू लाई तिनीहरूको रणनीतिक योजनालाई जटिल बनाउन र तिनमा परिवर्तन गर्न बाध्य तुल्याउँछन् ।

बलिस्टिक क्षेप्यास्त्रको दाँजोमा क्रुज क्षेप्यास्त्र न्यून उचाइमा र न्यून गतिमा निसानातर्फ अघि बढ्ने गर्छ । हालै उत्तर कोरियाले परीक्षण गरेको क्रुजज क्षेप्यास्त्रले १,५ सय किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ र त्यसका लागि उक्त क्षेप्यास्त्रलाई दुई घण्टाभन्दा केही बढी उडान समय लाग्छ । त्यस्तै क्षमताका बलिस्टिक क्षेप्यास्त्रले केही मिनेटको समयमा नै लक्ष्यभेदन गर्न सक्छ ।

क्रुज क्षेप्यास्त्रको विकासमा उत्तर कोरियाले रूचि देखाउनुको कारण भनेको उसका ‘शत्रुहरू’ लाई उक्त क्षेप्यास्त्र प्रहार गरेर थाहा पाउनमा र त्यसको प्रतिरक्षा गर्नमा हुनसक्ने अप्ठ्यारो अवस्था हुन सक्छ । दक्षिण कोरिया, जापान र अन्तर्राष्ट्रिय समुदायको लागि चिन्ताको विषय भनेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले नयाँ परीक्षण गरिएका क्षेप्यास्त्रहरूलाई ‘रणनीतिक अस्त्र’ भनेका छन् ।

त्यस्तो भनाइको सामान्य अर्थ उत्तर कोरियाको सत्ता ती क्षेप्यास्त्रमा परमाणु युद्धशीर्ष जडान गर्न चाहन्छ भन्ने हो । उत्तर कोरियाको यसअघिको क्रुज क्षेप्यास्त्र प्रणालीमा परमाणुअस्त्र जडान गरिने भन्ने गरिँदैन थियो । तर अहिले यो घटना र उद्देश्य आश्चर्यको रूपमा बाहिर आएको भने होइन । राष्ट्रपति किमले सन् २०२१ को ज्यानुअरी महिनामा नै त्यस्तो प्रणाली विकसित गर्ने कार्य भइरहेको घोषणा गरेका थिए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले लागु गरेको प्रतिबन्धहरूले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षणमा मात्र रोक लगाएको छ । तर क्रुज क्षेप्यास्त्रको परीक्षणमा बन्देज छैन ।

प्रतिक्रिया