एमाले विधान अधिवेशनमा तीन हजार प्रतिनिधि प्रस्ताव

काठमाडाैं । एमालेको विधान अधिवेशनमा तीन हजार प्रतिनिधि प्रस्ताव गरिएको छ । असोजको ४ र ५ गते एमालेले विधान अधिवेशन आयोजना गर्न लागेको छ । उक्त अधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य नै प्रतिनिधि रहने व्यवस्था गरिएको थियो । तर, एमालेको नवौं महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य निर्वाचित नभई माओवादी केन्द्रसँग एकता भएको थियो ।

अहिलेसम्म राष्ट्रिय प्रतिनिधि परिषद् नबनेको हुँदा विधान अधिवेशनमा कति र को–को प्रतिनिधि हुने भन्ने टुंगो लगाउनको लागि एमालेले आज स्थायी कमिटी बैठक बोलाएको थियो । बैठकमा विधान अधिवेशनमा तीन हजार प्रतिनिधि सहभागी हुने प्रस्ताव संगठन विभागबाट आए पनि अन्तिम निर्णय हुन बाँकी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

‘केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष कमिटी, पार्टीका जनसंगठनहरू, संघ र प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधिलगायत करीब तीन हजार प्रतिनिधि विधान अधिवेशनमा रहने प्रस्ताव आएको छ । त्यसमा स्थायी कमिटीमा छलफल भइरहेको छ,’ भट्टराईले भने ।

यस विषयमा थप छलफल गरेर निर्णयमा पुग्नको लागि दिउँसो साढे ३ बजे फेरि स्थायी कमिटी बैठक बस्ने उनले बताए । विधान अधिवेशनका प्रतिनिधि, अधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र विधानसम्बन्धी दस्तावेज र अधिवेशन व्यवस्थापनको विषयमा छलफल गर्नका लागि एमालेले स्थायी कमिटीको बैठक बोलाएको थियो ।

स्थायी कमिटीले पारित गरेको दस्तावेज केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान अधिवेशनमा प्रस्तावको रूपमा ती प्रतिवेदन र दस्तावेज पेश हुने भट्टराईले बताए ।एमालेले ललितपुरको गोदावरीमा विधान अधिवेशन आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया