आरजु राणाको राखी प्रकरण

गत साउन १७ गते महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षाबलले तुइन चुँडालेर दार्चुलाका जयसिंह धामीको हत्या गरेको समाचारले देशभरी सनसनी मच्चायो । सरकारले बेलैमा छानविन समिति गठन गर्दै प्रतिवेदन नआएसम्मका लागि कुनै पनि दबाब नदिन देशवासीलाई अपिल ग¥यो । करिब तीन साताको आध्ययनपछि छानविन समितिले प्रतिवेदन सरकारलाई बुझायो । तर, अध्ययनका क्रममा भारतीय सीमा सुरक्षा बलसँग वयान नलिइएको समाचार बाहिर आयो । यति ठूलो घटनामा पनि सरकारले भारतलाई कूटनीतिक नोटिस जारी नगरेको रहस्य खुल्यो ।

त्यति मात्रै होइन, प्रत्यक्षदर्शीको बयानले मात्रै प्रमाण नपुग्ने भन्दै घटनालाई भवितव्य बनाउने प्रयासमा छानविन समिति नै सक्रिय रहेको कुरा बाहिर आयो । सरकारको यो रवैया कुनै पनि स्वाभिमानी नेपालीलाई पाच्य हुने कुरा थिएन, त्यसमाथि पनि घटनाका प्रत्यक्षदर्शी तथा पीडित परिवारको मन त कुनै पनि हालतमा बुझ्ने संभावना थिएन । स्वभाविक रूपमा जनताहरू आक्रोशित भए । नेपाली जनताको आक्रोशलाई रेकी गर्न भारतीय वायुसेनाका हेलिकोप्टरहरू दार्चुला जिल्लामा रहेका नेपाली सुरक्षा पोस्ट मात्रै होइन, जिल्ला सदरमुकाम माथिका आकाशमा उड्न थाले । यो समाचारले राजधानी काठमाडौं तातिरहेका बेला प्रधानमन्त्री देउवाको निर्देशनमा गृहमन्त्रालयले खतरनाक सर्कुलर जारी ग¥यो । त्यो सर्कुलर हो, ‘मित्रराष्ट्र भारतविरुद्ध गतिविधि गरेमा सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाइने ।’

गृहमन्त्रालयको यो सर्कुलरले नेपालको सार्वभौमिक हैसियत भुटानको भन्दा पनि तल गिरेको विश्लेषण गर्न थालिएको छ । यो सर्कुलरपछि मुलुक आन्दोलनमय बनेको छ । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेबाट विभाजित भई सत्ता गठबन्धनमा सामेल एकीकृत समाजवादीले समेत आफ्नो विद्यार्थी संगठन अनेरास्ववियुलाई सडक आन्दोनमा उतारेको छ । अनुरास्ववियुले सोमबार गृहमन्त्री बालकृष्ण खाणको पुत्ला जलाएको छ । सत्तागठबन्धनमा सामेल भ्रातृ संगठन गृहमन्त्रीको पुत्ला दहनसम्मको आन्दोलनमा उत्रनु भनेको सामान्य मामिला होइन । संयोग पनि कस्तो परेको छ भने गत कात्तिक ५ गते विशेष विमानसहित दलबलका साथ आएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयलले मध्यरातमा करिब अढाई घण्टा भेट गरेपछि जे जसरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय रवैयालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन भएको थियो, ठीक त्यसरी नै यही भदौको पहिलो साता नेपाल भ्रमणमा आएका भारतीय सत्तारूढ पार्टी बिजेपीका नेता विजय चौथाइवाले र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाबीचको राखी प्रकरण वर्तमान गठबन्धनले भारतीय स्वार्थ अनुकूल हुने केही निर्णयहरू गरेको छ ।

देउवापत्नी राणाले चौथाइवालेलाई जनैपूर्णिमाको अवसर पारेर राखी लगाइदिएको तस्बिरसमेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो । चौथाइवाले र आरजु राणा दिदीभाई पनि होइनन्, राखी बाँध्ने संकृतिकी आरजु राणा होइनन् । त्यसैले यो राखी प्रकरण कुनै खतराको संकेत त होइन ? भन्ने आशंका गरिएको थियो । पहिलो कुरा त भारतीय सुरक्षाकर्मीले दार्चुलाका युवा धामीको तुइन काटेर गरिदिएको हत्यालाई दुर्घटना भन्दै प्रतिवेदन तयार गर्ने काम यही राखी प्रकरणपछि भएको हो । दोस्रो कुरा राखी प्रकरणपछि प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच सीमा विवाद रहेको भन्दै कर्मचारीहरूको संलग्नताका छानविन समिति गठन गरेका छन् । जबकी नेपाल र चीनबीच सिमांकनको काम धेरै पहिला सम्पन्न भइसकेको हो । नेपाल र चीनबीच सीमा विवाद छैन ।

हुँदै नभएको सीमा विवाद छानविन गर्न समिति गठन गरिनुलाई विज्ञहरूले राखी प्रकरणकै उपज मानेका छन् । नेपाल भारतबीच समस्याका रूपमा रहेको लिम्पियाधुरा प्रकरणलाई ओझेलमा पार्न प्रधानमन्त्री देउवाले भारतको इशारामा चीनसँग पनि सीमा विवाद निकालेको अनुमान गरिएको छ । तेस्रो कुरा भारतीय सेनाको हेलिकोप्टरहरू नेपाली अकाशमा चक्कर मार्दा पनि सरकार केही बोलेन, उल्टो भारतीय रवैयाका विरुद्ध गतिविधि गर्ने आफ्ना नागरिकलाई हदैसम्मको कारबाही गर्ने चेतावनीसहित सरकारले विज्ञप्ति जारी ग¥यो । एकातिर देउवाले प्रधानमन्त्री नियुक्त भएको दुई महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन चासो देखाइरहेका छैनन् भने अर्कातर्फ एकपछि अर्का विवादास्पद कदम चाल्दै गइरहेका छन् । कतै लोकतन्त्रलाई नै धरापमा पार्ने आफ्नो विगतको अभियानलाई देउवाले यतिबेला अवसरका रूपमा प्रयोग गर्दै त छैनन् ? भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया