काठमाडौं । लेखक अलका आत्रेय चूडालद्वारा लिखित खण्डकाव्य ‘निनाद वल्लरी’ बजारमा आएको छ । पितृशोकमा लेखिएको उक्त काव्य कुशेऔँसीको तिथि पारेर पब्लिकेशन्स नेपालयले सार्वजनिक गरेको हो । ‘नेपालय कविता’ अन्तर्गत प्रकाशित पुस्तकमा विभिन्न नौवटा छन्दमा विरचित करुण रसका कविता रहेका छन् । साहित्यकार विष्णुराज आत्रेय ‘लाटो साथी’ की छोरी अलकाले ‘निनाद वल्लरी’ स्वर्गीय पिताको प्रथम वार्षिकीमा लेखिएको शोककाव्य हो ।
काव्यमा पिता र पुत्रीको वात्सल्य र वियोगको विषयलाई छन्दमार्फत् मार्मिक ढंगले सुललित शैलीमा अभिव्यक्त गरिएको छ । दक्षिण एसियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी अलका अहिले भियना विश्वविद्यालय अस्ट्रियामा प्राध्यापकरत् छन् । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद लगायतका विधामा कलम चलाएकी अलकाको यो दोस्रो पुस्तक हो ।
पुस्तकबारेमा लेखक अलकाले भावको चरमोत्कर्षलाई शब्दले मात्र पूर्णतया अभिव्यक्त गर्न नसक्ने बताइन् । उनले भनिन्, ‘प्रेम, प्रसन्नता, सुख वा दुःखको चूडान्त अनुभूतिलाई व्यक्त वा विरेचन गर्न हाम्रो शरीरको पनि सक्रिय सहभागिता हुन्छ भन्ने त प्रकृतिसिद्ध कुरा हो । साहित्यका विधाहरुमा छन्द कविता त्यस्तो भाव सम्प्रेषण गर्न सक्षम भएको मैले पाएँ ।’
अठार वर्षको किशोरवयमै प्राचीन व्याकरणलगायत अन्य दुई विषयमा स्नातकोत्तर गरेर कीर्तिमान राखेकी अलकाले कक्षा दशसम्म घरमै बुबाबाट अनौपचारिक शिक्षा ग्रहण गरेकी थिइन् । पितृवियोगको पीडादायी अनुभूति र गुम्सिएका घाउलाई निको पार्न छन्द कविताको आश्रय लिएकी कविले छन्द र संस्कृत साहित्यको प्रारम्भिक शिक्षा आफ्ना पिताबाटै पाएकी हुन् ।
अलकाले भनिन्, ‘बुवाको साहित्यप्रतिको स्नेह जीवनपर्यन्त रह्यो । हाम्रा कतिपय धार्मिक विधानमा विवाहित छोरीलाई पितृकार्यमा अर्कै गोत्रकी भनेर सरिक हुन वर्जना गरिएको रहेछ । शोकमा व्याकुल भएको बेला मलाई ती विधानहरू अप्रिय लागेका थिए । धेरै सोचेपछि मलाई लागेको थियो मेरा साहित्यानुरागी पितालाई आफ्नो श्रद्धाञ्जली चढाउन कविताभन्दा अर्थोक के होला ! त्यसैले, आज मेरा पिताको प्रथम वार्षिकीमा वहाँले नै सिकाएको पथ अनुशरण गर्दै निनाद वल्लरी अर्पण गर्न चाहन्छु ।’
प्रकाशकीय मन्तव्यमा नेपालयकी सम्पादक भूषिता वशिष्ठले नेपाली साहित्य जगतमा खण्डकाव्य प्रचलित विधा भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘लेखनाथ पौड्यालको ‘ऋतुविचार’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ देखि माधवप्रसाद घिमिरेको ‘गौरी’ सम्म नेपाली पाठकबीच आज पनि उत्तिकै लोकप्रिय छन् । तर यो समृद्ध विधामा महिला लेखक भने विरलै भेटिन्छन् ।’
भूषिताले अलकाजस्ता ओजस्वी साहित्यकारको छन्दोबद्ध खण्डकाव्य प्रकाशित गरिनाले, यसले अन्य मेधावी छन्द कवि तथा कवयित्रीको लागि पनि मार्गप्रशस्त गरोस् भन्ने नेपालयको कामना रहेको जिकिर गरिन् ।
प्रतिक्रिया