इलाम । इलाममा दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई र जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराईली र जिल्ला समन्वय समिति सदस्य पूर्णबहादुर बस्नेतसहित १० वडाध्यक्ष, चार जना कार्यपालिका सदस्य र बाँकी सदस्य गरी ५६ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् ।
उनीहरूले सोमबार जिल्ला निर्वाचन कार्यालय इलामको कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गराएका हुन् । ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा इलामका १० स्थानीय तहमध्ये सात वटामा प्रमुख र नौ वटामा उपप्रमुख पद नेकपा एमालेले जितेको थियो । सात जना प्रमुखमध्ये दुई जनाले एकीकृत समाजवादी रोज्दा पाँच जना भने एमालेमै रहेका छन् । त्यस्तै नौ उपप्रमुखमध्ये एक जनाले एकीकृत समाजवादी रोज्दा आठ जना एमालेमै रहेका छन् ।
त्यस्तै ८१ वडामध्ये ४४ मा एकल र तीन वटामा मिश्रित गरी ४७ वटामा वडाध्यक्ष जितेको थियो । त्यसमध्ये १० जना वडा अध्यक्ष र बाँकीले एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा धेरै सूर्योदय नगरपालिकाका जनप्रतिनिधि रहेका छन् । सूर्योदयमा उपप्रमुख र एक वडाध्यक्षबाहेक सबैले एकीकृत समाजवादी रोजेका छन् । १४ वटा वडा रहेको सूर्योदयमा तत्कालीन एमालेले प्रमुख र उपप्रमुखसहित १० वटा वडामा जितेको थियो । जसमध्ये नौ वडाध्यक्षले एकीकृत समाजवादी रोजेका हुन् । त्यस्तै चार जना कार्यपालिका सदस्य र २९ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । पूर्वप्रधानमन्त्री खनालको बलियो क्षेत्र मानिएको सूर्योदयका झण्डै ८० प्रतिशत जनप्रतिनिधिहरू एकीकृत समाजवादीमा लागेको देखिएको छ ।
त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्षसहित एक वडा अध्यक्ष र सात जना एकीकृत समाजवादीमा लागेका छन् । ६ वटा वडा रहेको माईजोगमाईमा तत्कालीन एमालेले अध्यक्ष उपाध्यक्षसहित चार वटा वडामा जित हात पारेको थियो । अन्य जनप्रतिनिध एमालेमै रहेका छन् । त्यस्तै सन्दकपुर गाउँपालिकाबाट वडा सदस्य हरि लुंगेली र देउमाई नगरपालिका–९ बाट वडा सदस्य हेमराज लिम्बूले एकीकृत समाजवादी रोजेका हुन् ।
एकीकृत समाजवादीमा सनाखतपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया सूर्योदयका प्रमुख रणबहादुर राईले १० बुँदे सहमति कार्यान्वयन गरे पार्टी एकता जोगाउन आफूहरू अधिकतम लचक भए पनि केन्द्रबाटै १० सहमतिको उल्लंघन भएपछि एकीकृत समाजवादीमा लाग्नुपरेको बताए । ‘हामीले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगाउनुपर्छ भनेका हौँ । तर महासचिव ईश्वर पोख्रेलले नै १० बुँदे सहमति कार्यान्वयन गर्न नसकिने पटकपटक सार्वजनिक अभिव्यक्ति दिइरहनुभयो’, नगरप्रमुख राईले भने, ‘यसले सहमति कार्यान्वयन हुने छाँटकाँट देखिएन । तसर्थ एकीकृत समाजवादीमा लाग्यौँ ।’
एमाले विभाजन हुनुपूर्व माधव–झलनाथ समूहमा रहेका सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई भने पार्टी विभाजनपछि एमालेमै रहेका छन् । त्यस्तै इलाम नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका फाकफोकथुम गाउँपालिका र रोङ गाउँपालिकाबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहेका छन् ।
इलाम पूर्वप्रधानमन्त्री एवं तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको जिल्ला हो । पार्टी विभाजनपछि झलनाथको क्षेत्रमा एकीकृत समाजवादीमा खुल्नेको संख्या बढ्दो छ । उता केपी ओली निकट नेम्बाङको क्षेत्रमा भने समाजवादीमा जानेहरूको संख्या नगन्य मात्र देखिएको छ । पार्टी विभाजन भएपछि नयाँ पार्टीमा जान चाहाने स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गते मंगलबारसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुपर्ने हुन्छ ।
इलाम
प्रतिक्रिया