धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छुट भएका मुक्त हलियाको विवरण पुनर्लेखन गर्ने बताएका छन् । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले सोमबार कञ्चनपुरको पुनर्वास नगगरपालिका–९ सीतावस्तीमा आयोजना गरेको १३ औँ हलिया मुक्ति दिवस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा रहेका वास्तविक छुट मुक्त हलियाहरुको विवरण पुनःलेखन गर्ने कुरामा प्रदेश सरकार लागि पर्छ ।’ मुख्यमन्त्री भट्टले मुक्त हलियाहरुको समस्या समाधानका लागि कानुन बनाएर समस्या समाधान गर्न र मुक्त हलिया परिवारलाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकार लागि परेको बताए । मुक्त हलिया परिवारको पुनःस्थापनाका लागि तीनै तहका सरकारसँग साझेदारी गरेर समस्या समाधन गर्ने कुरामा प्रदेश सरकारले जोड दिने मूख्यमन्त्री भट्टको भनाइ छ ।
उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकार कमजोर वर्गको सरकार भएकाले मुक्त हलियाको हितमा नै काम गर्छ ।’ मुक्त हलियाका परिवारका बेरोजगार सदस्यलाई क्षमता अनुसारको तालिमको व्यवस्था गरी स्वरोजगार बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उनले बताए । उनले भने, ‘व्यवसाय गर्न चाहने मुक्त हलिया परिवारलाई ऋण उपलब्ध गराउने कार्यक्रम पनि प्रदेश सरकारले छिट्टै सञ्चालन गर्छ ।’ सरकारले २०६५ भाद्र २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । घोषणा गरेको १३ वर्ष पुग्दा पनि कतिपयले अझै परिचयपत्र पाएका छैनन भने कतिपय परिचयपत्र पाएकाहरुको पनि पुनःस्थापना हुन सकेको छैन ।
प्रतिक्रिया