बाढीपहिरोको चपेटामा थाकखोलाको नुनखानी

बलेवा । बाढीपहिराका कारण थाकखोलाको नुन खानी संकटमा परेको छ । खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढीपहिरोको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नुनखानी संकटमा परेको हो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमामा रहेको नूनखानी संरक्षणका लागि गाउँपालिकाले निर्माण गरेका संरचना बर्सेनि बर्खा याममा बग्ने गरेका छन् ।

नर्सिङ खोलामा आउने बाढी र वर्षापछि आउने पहिरोका कारण नूनखानीको संरक्षणका लागि बनाइएका संरचनामा क्षति पुग्ने गरेको गाउँपालिका अध्यक्ष पेन्चोक छेप्तेन गुरुङले बताए । गत वर्ष बनाइएका दुई वटा पोखरी बाढीले बगाएको छ ।

नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउँछ । त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउ जस्तै जम्छ ।

त्यही जमेको ढिक्कालाई थकाली समुदायले नून बनाउने गरेका थिए । गतवर्ष रु १५ लाख खर्चेर बनेका दुई वटा पोखरीमा यस वर्षको बाढीपहिराले क्षति पुर्याएको गुरुङले बताए ।

‘हामीले कल्भर्ट, पोखरी निर्माण गरेका थियौँ, तर बाढीपहिरोले सधैँ क्षति पुर्याउछ’, गुरुङले भने, ‘नून खानीको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ ।’ गाउँपालिकाले खानीको संरक्षण र प्रयोग गरेर पर्यटन र उत्पादन दुवैको योजना बनाएको थियो । नूनिलो पानी आउने पहाडमा वर्षाको समयमा पहिरो आउने गरेको छ ।

छेवैमा रहेको नर्सिङ खोलाको बाढीले खानी छेउका संरचनामा क्षति पुर्याउने गरेको छ । ‘यहाँ खानी हेर्न चाहनेलाई पठाउन मात्रै सकेपनि धेरै फाइदा थियो’, अध्यक्ष गुरुङले भने, ‘अफ्ठ्यारो बाटोका कारणले पनि सोचेको जस्तो पर्यटक पठाउन सकिएको छैन् ।’

यहाँको नुन बहुगुणी हुने मान्यता रहेकाले यसको उत्पादनमा गाउँपालिकाले लगानी बढाएको थियो । औषधीय गुण भएको नुन खोज्ने धेरै भए पनि खानीमै रहेको प्राकृतिक समस्याका कारण उत्पादन गर्न नसकेको उनले बताए ।

उनले पहाडमा रसाएको पानीमा खोलाको पानी मिसाएपछि मात्रै नुन जम्ने बताए । लामो समय नुनको उत्पादनमा काम गरेका छुसाङका वयोवृद्ध पेमा तोर्चे । त्यही पानी जमाउनका लागि बनाइएका संरचना भत्किएपछि नुन उत्पादन नहुने उनले बताए ।

प्रतिक्रिया