चेतन कार्की प्रतिष्ठान स्थापना

काठमाडौं । गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा ‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा चलचित्रकर्मी एवं लेखक मोहन निरौला रहेका छन् । यस्तै, महासचिवमा कवि मुरारि सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्रद्वय पारश कार्की र पंकज कार्की रहेका छन् । प्रतिष्ठानको तदर्थ समितिको सदस्यमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, अभिनेता रवीन्द्र खड्का र कवि दिव्य गिरि रहेका छन् । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गङ्गा कार्कीलाई चयन गरिएको छ ।

वि.सं. १९९५ मा स्याङ्जाको बहाँटारी थुममा जन्मिएका चेतनको नेपाली साहित्य तथा चलचित्रका क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ । चन्द्रमाया कार्की तथा जुद्धवीर कार्कीका सुपुत्र चेतनको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो । चेतनले निर्देशन गरेको पहिलो चलचित्र ‘विश्वास’ हो भने ‘भूमरी’ दोस्रो तथा ‘पहिलो प्रेम’ अन्तिम चलचित्र रहेको छ । यसैगरी, परिवर्तन, आत्मा बेचेको छैन, हनिमून, ढलेको गिलास जस्ता उपन्यास तथा कल्पना टूट चुकी है (कविता–हिन्दी÷उर्दू) सहित जून निदाउन थाल्यो (कविता र गीति संग्रह), माया प्रितीको चोखो कथा (गीत संग्रह), हत्केलाले सधैंभरी सूर्य छेकिँदैन (मुक्तक संग्रह), यो देश मेरो पनि (गजल संग्रह), बसिबियाँलो (कथा संग्रह), दिल जीगर के टुकडे (उर्दू बयाज) आदि पनि रचना गरेका छन् ।

यसैगरी, चेतनको पहिलो नाटक ‘आत्मा बेचेको छैन’ हो भने पहिलो उपन्यास पनि ‘आत्मा बेचेको छैन’ नै हो । यसैगरी पहिलो गीत संगीत महर्षी नातिकाजीको संगीतमा तारा देवी र भुवन थापा चन्दको स्वरमा रहेको ‘दाईलाई बोलाउ भने लेक स्वर पुग्दैन, बोलाइरन हुँदैन’ हो । वि. सं. २०१७ सालदेखि नै नेपाली रंगमञ्चमा प्रवेश गरेका चेतन चलचित्रमा भने २०२५ सालदेखि लागेका थिए । उनले रचना गरेका दर्जनौं गीतहरु अत्यधिक लोकप्रिय छन् । तीमध्ये ‘तीजको रहर आयो बरी लै’ सर्वाधिक लोकप्रिय गीत रहेको छ । चेतनले माया प्रीति, कान्छी, कन्यादानसहित थुप्रै चलचित्रका लागि गीत रचनासमेत गरेका छन् । नातिकाजीको संगीत, तारा देवी र भुवन थापाको स्वरको ‘बोलाउँ भने लेख स्वर पुग्दैन’ चेतन कार्कीद्वारा रचना गरिएको पहिलो नेपाली गीत पनि हो । यस्तै, शाह वंशको इतिहास, शिक्षाको उज्यालो, मेरो सपना, पृथ्वीनारायण शाह, बुढो चौतारी, मेरो कर्तव्य के ? लगायत दर्जनौं नाटकसमेत उनले लेखेका छन् ।

यस प्रतिष्ठानको कार्यालय चेतनको ललितपुरस्थित घरमा रहनेसमेत निर्णय गरेको सदस्य राधेश्याम लेकालीले जानकारी दिए । उनका अनुसार चेतनद्वारा स्थापना गरिएको हीरासिहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने निर्णय गरिएको छ । यसैगरी, चेतनका प्रकाशित पुस्तक र सम्मानपत्रको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाको प्रकाशन गर्ने जस्ता उद्देश्यसहित प्रतिष्ठानको स्थापना गरिएको हो । चेतन कार्कीले नेपाली सस्कृति, कला र साहित्यमा पु¥याएको समग्र योगदानको उच्च कदर प्रतिष्ठानले गर्ने जनाएको छ ।

प्रतिक्रिया