गाउँपालिका केन्द्र पुग्न ४२ किलोमिटरको यात्रा गर्नुपर्ने

बाँके । जिल्लाको राप्ती सोनारी गाउँपालिका–७ का जनतालाई गाउँपालिका केन्द्र पुग्न निकै कठिन छ । वडा–७ मा पर्ने फत्तेपुरको लालपुरबाट गाउँपालिकाको कार्यालय वडा–२ अगैया पुग्नका लागि ४२ किलोमिटरको यात्रा गर्नुपर्दछ । वर्षाको समयमा खहरे खोलामा आउने बाढीले सडक अवरुद्ध हुने गरेको वडा–७ का अध्यक्ष रामलखन थारूले बताए । उनका अनुसार, राप्ती सोनारी गाउँपालिकाको भूभाग ठूलो भएकाले टाढाका जनतालाई गाउँपालिकामा आउन दुःख भएको भन्दै गाउँसभामै पालिका टुक्राउने प्रस्ताव गरिएको थियो । तर, त्यसमा केही निर्णय हुन सकेको छैन । सडक राम्रो नभएका कारण गाउँपालिकाको केन्द्र पुग्न वडा–६ र ७ का बासिन्दालाई वर्षाको समयमा थप सास्ती हुने गरेको स्थानीय अगुवा चमेली बाकवलले बताइन् ।

‘आफ्नै निजी साधन भएका मान्छे बिहान गएर साँझ फर्किन सके पनि सार्वजनिक सवारीसाधन वा साइकलमा यात्रा गर्ने सर्वसाधारण गाउँपालिका पुग्न पूरै एकदिन लाग्ने गर्दछ’, बाकवलले भनिन्, ‘अहिले वर्षायाममा त ठाउँ ठाउँमा सडक बिग्रिएको छ, खोलामा बाढी आएर गाउँपालिका पुग्नै सकस छ ।’ वडा–७ लालपुरबाट गाउँपालिका कार्यालय पुग्न फत्तेपुरको जंगल हुँदै, विनौना, वैजापुर पार गर्नुपर्दछ । सिक्टा सिँचाइको पूर्वी नहर निर्माणले आवतजावतमा केही सहज भए पनि ठाउँठाउँमा सडक बिग्रिएको फत्तेपुरका अगुवा लालबहादुर थापाले जानकारी दिए ।

वडा–६ र ७ का जनतालाई गाउँपालिकासम्म आउन सहज बनाउनका लागि लालपुर–चिलरिया जोड्ने लिङ्क सडक बनाउने तयारी गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारूले जानकारी दिए । उनका अनुसार सडकको डिपिआर सुरु गरिएको छ । यो लिङ्क सडक बनेपछि लालपुरका जनतालाई गाउँपालिका कार्यालय आउन २६ किलोमिटर कम हुनेछ । सो रोड वडा–७ बाट वडा–५ को सिमाना चिलरियासम्म आइपुग्छ । ‘अहिले यहाँ गोरेटो बाटो छ । आधासम्म राम्रो भए पनि आधा बिग्रिएको छ । करिब १२ किलोमिटरमा काम गर्नुपर्ने देखिन्छ’, अध्यक्ष थारूले भने, ‘५० लाखको लागतमा १२ किलोमिटर बनाउन डिपिआर गरिएको छ । यसले जनतालाई पालिका कार्यालयमा पुगेर काम गर्न सहज हुनेछ ।’ ५९ हजार ९ सय ४६ जनसंख्या रहेको यो गाउँपालिकाकोे कुल क्षेत्रफल १ हजार ४१ दशमलव ७३ वर्ग किलोमिटर रहेको छ । साविकका खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी गरी ६ गाविस मिलेर निर्माण भएको यो गाउँपालिका ९ वडामा विभाजित छ ।

प्रतिक्रिया