राजनीतिका एक निष्ठावान् चिन्तक प्रगतिवादी स्रष्टा भट्ट

काठमाडौं । अग्रज प्रगतिवादी स्रष्टा आनन्ददेव भट्टको ८६ वर्षका निधन भएको छ । ‘अल्जाइमर रोग’ तथा निमोनियाबाट पीडित उनको सोमबार बिहान तीन बजे कालिकास्थानस्थित निवासमा निधन भएको हो । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थानमा बस्दै आएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका भट्टलाई केही दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरेर उपचार गरिदैं थियो । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्ध लगायतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लगायत कृति लोकप्रिय छन् ।

विसं १९९३ मा जुम्लामा जन्मिएका भएका उनी प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्वअध्यक्षसमेत थिए । दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरेका भट्ट कुशल संगठकका रुपमा परिचित थिए । उनले चितवन, भक्तपुर र धरानमा वसेर कम्युनिस्ट राजनीतिको संगठन विस्तारसमेत गरेका थिए । भट्टको गत वर्ष राष्ट्रिय अभिनन्दन गरिएको थियो । उनका दुई छोरा र पत्नी (प्राध्यापक सुशीला भट्ट) छन् । भट्टको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ प्रगतिवादी समालोचक भट्टको निधनमा दुःख व्यक्त गरेकी छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत नेपाली वाङ्मयको श्रीवृद्धि एवं लोकतान्त्रिक आन्दोलनमा प्रगतिवादी लेखक भट्टको योगदान सदा स्मरणीय रहने जनाएकी छन् । प्रगतिवादी चिन्तक भट्टप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकाकूल परिवारमा पनि समवेदना प्रकट गरेकी छन् । यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशकै सम्मानित बौद्दिक व्यक्तित्व प्राध्यापक भट्टको निधनको खबरबाट असाध्यै दुःखी भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाली साहित्यका अविराम साधक साहित्यकार भट्ट प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य निधनले प्रगतिशील क्षेत्रमा ठूलो क्षति पुगेको जनाएका छन् ।

भट्ट लेखक स्रष्टा मात्र नभएर राजनीतिका एक निष्ठावान् चिन्तक पनि रहेको प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा साहित्यकार मातृका पोख्रेलले बताए । उनले भट्ट जत्तिको इमानदार र निष्ठावान् राजनीतिज्ञ र लेखक नेपालमा पाउन मुस्किल पर्ने जिकिर गरे । उनले भने, ‘नेपालका मै हुँ भन्ने वामपन्थी नेताका उहाँ गुरु पनि हुनुहुन्थ्यो । निर्मल लामा र आनन्ददेव भट्टको आदर्शका कारण मजस्ता धेरै व्यक्ति वामपन्थी राजनीतिमा सक्रिय भएका हौँ ।’

पोखरेलले भट्टको निधनले वामपन्थी राजनीति, प्रगतिशील साहित्य र सिंगो देशका लागि ठूलो क्षति भएको बताए । उनले भट्टको अभिनन्दन ग्रन्थ प्रकाशनको तयारी गर्दै गरेको जानकारी दिँदै भने, ‘दुर्भाग्य उहाँको निधन भयो । अब अभिनन्दन ग्रन्थलाई स्मृति ग्रन्थका रुपमा प्रकाशन गर्नुपर्ने बाध्यता हामीसँग रहेको छ ।’ जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले नेपालको प्रगतिशील आन्दोलनका अग्रज व्यक्तित्वको निधनले अपूरणीय क्षति पुगेको बताए । उनले भट्टले अपनाएको मार्गमा प्रगतिशील स्रष्टा तथा राजनीतिज्ञ हिडेमा मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विचार व्यक्त गरे । २०६२÷०६३ को जनआन्दोलनमा प्रजातन्त्रवादी र प्रगतिशील स्रष्टालाई एउटै मञ्चमा राखेर उनीहरुको नेतृत्वसमेत भट्टले गरेका थिए ।

प्रतिक्रिया