सुत्केरी खोज्दै सुकुम्बासी बस्तीमा

लक्ष्मी थापा

काठमाडौं । काठमाडौंको महाराजगंज स्थित टिचङ हस्पिटल पछाडिको सुकुम्बासी टोलको पुरानो पाराको घर । मक्किएको काठको भर्याङ उक्लेर दोस्रो कोठामा छिर्दा भुइँमै लगाएको मैलो ओच्छयानमा सानी छोरीको छेउमा झोक्राएर बसेकी थिइन् लक्ष्मी थापा । कोठाको एक छेउमा ग्याँस चुल्हो,सकिन लागेको चामलको बोरा र केही भाँडाकुँडा । यी तिनै लक्ष्मी हुने जो अस्ति शनिबार नारायणगोपाल चोकमा विरामी छोरीको उपचारका लागि सहयोगको याचना गर्दै उभिएकी थिइन् । काखमै विलाउने छोरी च्यापेर उभिएकी दुइमहिने सुत्केरी लक्ष्मी को तस्बिर फेसबुकमा राखेपछि धेरैजनाले चासो देखाएपछि सोमबार विहानै उनलाई खोज्दै सुकुम्बासी टोलमा पुगेको थिएँ । दुधौली नगरपालिका—१० कमलाखोचका पदमबहादुर खड्का र लक्ष्मीको पहिलो सन्तान जन्मिन सातै महिनामा । ज्यामी काम गर्ने पदम दम्पतीको काठमाडौं तारकेश्वर, जरङखुको कोठामै जन्मेकी हुन छोरी । जन्मदा १ किलो ७५० ग्रामकी छोरी १२ दिनमा हेल्थपोष्टमा तौल लिंदा २५० ग्राम घटेको देखिए पछि तुरुन्तै कान्तिवाल अस्पतालको इमर्जेन्सीमा पुर्याए । अस्पतालले आइसियुमा भर्ना गर्यो । १५ दिन आइसियुमा राख्दा एक लाख ४९ हजार बिल उठ्यो ।

‘अस्पातालले त अझै डेढ–दुइ महिना राख्न भनेको थियो तर ब्यालेन्स सकिएपछि १५ दिनमै आइसियुबाट निकाल्नु पर्यो’ पदमबहादुरले भने,‘७ हजार पुगेन,३० नम्बर कोठामा गएर भनेपछि डिस्कान्ट भयो, एकलाख ४२ हजार तिरेर निस्कियौं ।’ ७ हजार डिस्काउन्टको कुरा गर्दा पदमबहादुरको अनुहार किन्चित उज्यालिएको भए पनि धरौटीको पैसा दोहोर्याएर तिर्न परेकोमा भने दुखेसो पोखे । ‘कान्तिमा बस्दा ५ हजार नगद, मोवाइल र अस्पतालमा धरौटी राखेको ४ हजार रुपैयाको बिल चोरी भयो ।’ पदमबहादुरले भने,‘ बिल हराएपछि धरौटीको पैसा फेरि तिर्न पर्यो ।’ सिसी क्यामेरा हेरेर चोर पत्ता लागाउन पर्यो भनेर अस्पताल प्रशासनसंग भन्दा बिग्रेको छ भन्दै चासो नदिएको उनको गुनासो छ ।
छोरी विरामी भएपछि खड्का दम्पती तारकेश्वर छोडेर टिचिङ पछाडिको सुकुम्बासी बस्तीमा बस्न थालेको एक महिना भयो । सुकुम्बासी बस्ती भन्नुमात्रै हो भाडा त त्यहाँ पनि तिर्नुपर्छ अलि कम, महिनाको दुई हजार ६४० । अहिलेसम्म कमाएको सबै पैसा उपचारमा सकिएपछि सहयोगका लागि सडमा हात फैलाउन परेकोमा पदमलाई नमज्जा लागिरहेको छ । ‘ घरमा बुवा आमालाइ पनि भने केही उपाय छैन भन्नुभयो’ उनले भने, ‘ बुवाले पनि के गरेर पठाउनु ? गाउँमा हाम्रो घरबास मात्रै छ । ’

लक्ष्मी थापा बस्ने काेठा

जरङ्खुका छिमेकीले सहयोग गरेको एक बोरा चामल सकिन लागेको र बच्चाको ल्याक्टो ३ दिन जतिलाइ मात्रै भएकोले अब कसरी जुटाउने होला भन्ने चिन्ता उनलाई छ । पदमबहादुरले भने, ‘सुत्केरीले गतिले खान नपाएर होला दूध पनि राम्रो आउदैन, बच्चाको ल्याक्टो पनि सकिन लाग्यो ।’ एक त कलिली सुत्केरी खानपनि गतिलो छैन,त्यसमा पनि यो झरीमा सडकमा बस्दा लक्ष्मीको स्वास्थ्य पनि बिग्रदै गएको छ । ‘बेलुका कोठामा आउँदा पेट दुखेर मरौंलाजस्तो हुन्छ’ लक्ष्मीले भनिन् ‘पेटमा रगत जमेको छ रे औषधि गर्न ५ हजार लाग्छ भनेका छन् ।’

फेसबुक लभ अनि बिहे
आठ कक्षा पास गरेपछि भागेर इण्डिया पसेका पदम ७–८ बर्ष उतै अलमलिए । मुम्बइमा लामो समय बसेका उनी कोरोनाले उथलपुथल पारेपछि एक बर्ष अघिमात्रै नेपाल फर्केका हुन् । फेसबुकमै सम्पर्क भएकी वर्दिवासकी लक्ष्मी पहाडीसंग घनिष्ठता बढ्दै गएपछि यो जोडीले लगनगाँठो कसेको एक बर्ष पनि भएको छैन । ‘चिनजान भयो, भेटघाट भयो अनि बिहे पनि गरियो’ पदमले भने ‘बिहे गरेपछि काठमाडौं आइयो ।’ विहे नगर्दै लक्ष्मीलाई सिन्धुली घर देखाएको भए पनि बिहेसंगै काठमाडौं छिरेपछि घर लगेका छैनन् ।

फेसबुकमा कसरी चिनजान भयो त ? तीन कक्षा मात्रै पढेकी २५ बर्षे लक्ष्मीले अलिकति लजाउँदै भनिन,‘फुपुदिदीको मोवाइलबाट सम्पर्क गरेको ।’ बुवा वितेपछि फुपुदिदीको आश्रयमा एक भाइ र आमा संगै बसेकी लक्ष्मीलाई आमालाई भेट्न मन छ । ‘आमालाई भेट्न मन छ’ लक्ष्मीले भनिन्,‘ आमा हेटौंडामा भएको मामाहरुलाई मात्रै थाहा छ उहाँले भेट गराइदिनुहुन्न ।’ कान कम सुन्ने र बोल्न पनि राम्रोसंग नसक्ने आमालाई मामाले हेटौंडामा होटलमा काम लगाइदिएको बताइन् ।

बायाँ सुजाता परियार दायाँ सुष्मा सुनार

पीडितहरुको बस्ती
सुकुम्बासी बस्ती (घरभेटीहरुले यो बस्तीलाई सुकुम्बासी बस्ती भनेको त्यति नरुचाउने भएर गजेन्द्र बस्ती भन्न रुचाउँने रहेछन्) के भन्नु? पीडितहरुको बस्ती भने पनि हुने । लक्ष्मीलाई खोज्न बस्ती पसेको, चार ठाउँ सोधखोज गर्दा अरु दुई त्यस्तै पीडित आमा भेटिए । उनी मध्य एक हुन् ओखलढुंगा केउरेनीकी सुजाता परियार । सुजाताकी ७ बर्षीय छोरी युनिसा परियार व्लड क्यान्सरको विरामी हुन् । उनको कान्ति वाल अस्पतालको १३४ नम्बर वाडमा उपचार भइरहेको छ । सुजाताले भनिन् ‘अशक्त श्रीमान छोरी कुरेर अस्पताल बस्नुहुन्छ म सहयोग जुटाउन सडकमा भौतारिन्छु ।’

बाँके कोहोलपुरकी बाँके कोहलपुरकी सुष्मा सुनारको पनि ब्यथा उस्तै छ । उनका ८ बर्षिय छोरा अजिवदेव साहु पनि ब्लड क्यान्सरका विरामी हुन् । विगत ६ महिनादेखि उनको पनि कान्ति वाल अस्पतालमा उपचार चलिरहेको छ । कोठामा सुतिरहेको छोरालाई देखाउँदै भनिन्,‘अहिले केमो चलेपछि कपालको रौं सबै झरेको छ ।’ छोराको उपचारका लागि यतै बस्नुपर्दा आर्थिक समस्या झेल्न परेको उनले बताइन् ।

प्रतिक्रिया