पहिरोले आठ घर क्षति, तीन घाइते

बेनी । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो । कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले सोमबार बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पु¥याएकोे जानकारी दिए । उनका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका र उनीहरूलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पु¥याएका थिए ।

उनले अहिले पनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको जानकारी दिए । मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयवासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।

‘पहिरोसँगै घरभित्रै नदीको बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सा¥यौँ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ’, स्थानीयवासी सुरेश पुनले भने । उनका अनुसार बजारमा आएको छालले घरसँगै शौचालय, खानेपानी लगायतमा समेत क्षति पु¥याएको छ । छालले नदी नियन्त्रणका लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरूपमा भत्काएको छ ।

यसैबीच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । पहिरो खसेर आएको बाढीले पु¥याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए ।

प्रतिक्रिया