संक्रमित बालबालिकाको सेवालाई बालमैत्री बनाइँदै

इलाम । पूर्वी नेपालको चार जिल्लामा कोभिड–१९ बाट संक्रमित बालबालिकाहरूका लागि विपद् लक्षित सेवा प्रवाहलाई बालमैत्री रूपमा कार्यान्वयन सुनिश्चित गरिने भएको छ । ‘बाल हेल्पलाइन १०९८’ इलामअन्तर्गत ‘कोभिड–१९ को समयमा विपद् सहयोग परियोजना’ मार्फत स्थानीय सरकारका विपद् लक्षित सेवा प्रवाहलाई बालमैत्री रूपमा कार्यान्वयनको सुनिश्चितता गर्न पहल गरिने भएको हो । पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका ३० वटा स्थानीय तहमा बालमैत्री रूपमा कार्यान्वयनको सुनिश्चितता गर्न परियोजना सुरु भएको छ । इलाम, पाँचथर, ताप्लेजुङका सबै र तेह्रथुमका तीन गरी ३० वटा स्थानीय तहमा एक वर्षे परयोजना सुरु भएको हो ।

तेस्रो भेरियन्टको कोभिडको सम्भावना रहेको र सो भेरियन्ट बालबालिका लक्षित हुने पूर्वानुमान रहेकाले स्थानीय स्तरमा पूर्वतयारीको काम परियोजनाअन्तर्गत हुनेछ । स्थानीय सरकारका विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रूपमा कार्यान्वयनको सुनिश्चितता गर्न जोखिममा परेका बालबालिकाको आपतकालिन, आकस्मिक उद्धार, राहत, मनोविमर्श तथा संरक्षण सहयोग र पारिवारिक पुनर्मिलन, पुनस्र्थापना तथा समन्वय र सहजीकरण हुनेछ ।

सबै सरकारी, नीजि, सहकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बालबालिकाको लागि आइसोलेसन सेन्टरमा २० प्रतिशत बेड छुट्याउने व्यवस्था हुनेछ । त्यसका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने परियोजना संयोजक भक्ताबहादुर थामीले जानकारी दिए । त्यसलाई कार्यान्वयन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २१ जेठमा नै सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरिसकेको छ ।

त्यसैगरी बालबालिकाका लागि आइसोलेसन सेन्टरमा स्वास्थ्य, खेलकुद तथा शैक्षिक सामग्री सहयोग, जोखिममा परेका बालबालिकाको उद्दार, संरक्षण, स्वास्थ्य उपचार, समन्वय र सहजीकरण, रेडियोमार्फत सचेतनाका लागि कार्यक्रम प्रसारण गरिने परियोजना संयोजक थामीले जानकारी दिए । त्यस्तै २४सै घण्टा टेलिफोन सेवा, छलफल तथा अन्तत्र्रिmया कार्यक्रम, मनोसामाजिक सहयोग तथा परामर्श, कानुनी सहयोग तथा परामर्श र घटना व्यवस्थापना तथा अभिलेखीकरणको कार्य हुनेछ ।

कोभिडको समयमा विशेष गरी हिंसापीडित र जोखिममा परेका बालबालिकालाई लक्षित गरी गत १ जुलाई २०२१ बाट सुरु भएको परियोजनाको अवधि ३० जुन २०२२ सम्म रहनेछ । किन्डरमिसनरेकको सहयोग, राष्ट्रिय बाल अधिकार परिषदको समन्वय र सहयोगमा मानवअधिकार मञ्च नेपाल इलामको व्यवस्थापनमा परियोजना सुरु भएको हो । किन्नरमिसनरेकले बजेटको व्यवस्थापन, राष्ट्रिय बालअधिकार परिषद्ले बजेट तथा समन्वय र सहजीकरण एवं मानवअधिकार मञ्चले जनशक्ति र स्रोतसाधनको व्यवस्थापन गर्नेछ । परियोजनाको कुल बजेट ७० लाख १४ हजार रुपैयाँ रहेको परियोजनाको जानकारी गराउन आयोजित पत्रकार भेटघाटमा जानकारी गराइयो ।

प्रतिक्रिया