दमौली । केही दिनदेखि परेको वर्षाका कारण आज पहिरो खस्दा डुम्रे–बेसीशहर सडक अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा आज बिहान ९ः३५ बजे पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
बाटो खुलाउनका लागि सडक विभागको स्काभेटर लमजुङबाट आउँदै गरेको र बाटो सञ्चालन हुन दुई–तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
पृथ्वीराजमार्ग सञ्चालन
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास–३ मादी पुल नजिकै खसेको पहिरो हटाएपछि राजमार्ग सञ्चालन भएको छ । केही दिनदेखि परेको वर्षाका कारण आज बिहान खसेको पहिरो हटाएर राजमार्ग सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
सडकमाथिबाट खसेको पहिराले बाटो दुईतर्फी अवरुद्ध भएकामा स्काभेटरको प्रयोग गरी पहिरो सफा गरिएको प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार सवारीको चापलाई मध्यनजर गरी एकतर्फी राजमार्ग सञ्चालन गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाका अन्य ठाउँमा भने अहिलेसम्म अवरोध नरहेको प्रहरीले जनाएको छ ।
छाब्दीमा आएको बाढीले डाइभर्सन बगायो
व्यास नगरपालिका वडा नं १ र १३ जोड्ने छाब्दी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण छाब्दी खोलामा आएको बाढीले त्यहाँ निर्माण गरिएको डाइभर्सन बगाएको हो ।
गत असार १७ गते आएको बाढीले पक्की पुल भत्काएपछि नगरपालिकाले उक्त ठाउँमा असार २७ गतेदेखि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराइएको थियो ।
केही दिनदेखि परेको वर्षापछि आएको बाढीले डाइभर्सन पनि बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ । उक्त ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । दुवैतर्फ जीप निर्माण सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया