प्रदेशस्तरीय पशुपंक्षी अस्पताल बनाउने प्रस्ताव

चितवन । पशुपंक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपंक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइसकिएको छ । वार्षिक रु दुई करोड बजेट विनियोजना गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख डा दयाराम चापागाईंले जानकारी दिए ।

उनका अनुसार सो अस्पताल पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । जिल्लाका व्यवसायीको माग अनुसार अत्याधुनिक प्रयोगशालासहितको अस्पताल प्रस्ताव गरिएको हो ।

अहिले चितवनको विज्ञ केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र छ । जसले गर्दा नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

रोगको पहिचान र पशुपंक्षीको उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्न प्रस्ताव गरिएको पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर दयाराम चापागाईंले जानकारी दिए ।

गत वर्ष चितवनमा देखिएको रोगका कारण केही गाईको मृत्यु भयो भने दूध उत्पादनमा समेत गिरावट आएको थियो । सोही रोग पहिचानका लागि चितवनबाट काठमाडौं नमूना पठाइएकामा दुई सातापछि मात्र नतिजा प्राप्त भएको थियो ।

सो अवधिमा धेरै क्षति भइसकेको उनले जानकारी दिए । अहिले सीमित जनशक्तिले काम गर्नुपर्ने बाध्यता रहेको प्रमुख चापागाईंले बताए । यस जिल्लामा वार्षिक एक लाख १० हजार ६३१ मेक्ट्रिकटन दूध उत्पादन हुँदै आएको छ । माछा, कुखुरालगायतमा जिल्ला आत्मनिर्भर छ ।

प्रतिक्रिया