विकृतिको जालोमा तीज गीत

काठमाडौं । तीज हिन्दु नारीले सदियौँदेखि मान्दै आएको धार्मिक एवं मौलिक सांस्कृतिक पर्व हो । विशेषगरी व्रत बसेर दिदीबहिनी जम्मा भई मौलिक भाकामा गीत गाउँदै तीज मनाउने प्रचलन रहिआएको छ । प्रविधिको विकाससँगै चेलिबेटी जम्मा हुन नसके घरमै बसेर रेडियो तथा टेलिभिजनमार्फत तीजका गीत सुनेर मनोरञ्जन लिने प्रचलन पनि रहिआएको छ । तर, पछिल्लो समय कलाकार र प्रविधिको व्यापक विकाससँगै अनलाइन तथा युट्युबमा बेग्रल्ती गीत आउन थालेका छन् । पहिले तीज गीत भन्नेबित्तिकै ग्रामीण भेगका महिलाका दुःख र वेदना पोखिएका गीत भन्ने बुझिन्थ्यो । दुःख र पीडाका भाकासँगै सभ्य तरिकाले नाच्दै रमाइलो गर्दै तीज गीत गाइन्थ्यो । तीज गीतका भिडियो पनि त्यस्तै मौलिक बन्थे । आजकल समय बदलिँदै गएपछि तीजका नाममा उत्ताउँला र समाजमा नै नपच्ने विकृतीजन्य शब्द रहेका गीत र भिडियो बनाउने प्रचलन बढ्दै गएको छ ।

खासमा कलाकारले साउन लागेपछि मात्रै तीजका गीत अर्थात एल्बम बजारमा ल्याउनुपर्ने अग्रज कलाकार बताउँछन् । तर, हिजोआज भने जेठ लाग्नासाथ तीज गीत रेकर्ड गरेर ल्याउन हतार गरेको पाइन्छ । कतिपय गीतमा पुरानो परम्परा अनुसारका मौलिक भाका र शब्द भेटिँदैनन् । यस्तै, तीजका नाममा पुरुषले मात्रै ¥याप शैली गीत गाउने तथा भिडियोमा पनि पुरुषले उच्छृंखल अभिनय गरी युट्युबमार्फत सार्वजनिक गरेको पाइन्छ ।

विकृति बढ्दै गएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले समाजमा अपाच्य एवं उत्ताउलो खालका तीज गीतलाई न्युनिकरण गर्ने अभियान चलाएको छ । विगतका वर्षमा तीजको नाममा केही कलाकारले विकृति तथा अपाच्यजन्य गीत सार्वजनिक गरेपछि दर्शक–स्रोताबाट गुनासो आएको प्रतिष्ठानले जनाएको छ ।

त्यसलाई मध्येनजर राख्दै यस वर्ष पनि प्रतिष्ठानले त्यस्ता गीत बजारमा नल्याउन कलाकारलाई आग्रह गर्दै अपिलपत्र जारी गरेको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र उप–महासचिव एवं विकृति विसंगति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालले हस्ताक्षर गरी अपिलपत्र सार्वजनिक गरेका थिए ।

जसमा भनिएको थियो, ‘नेपाली मौलिक लोकगीत संगीतअन्तर्गत पर्वगीत विशेष तीज गीतलाई हाम्रो संस्कृतिको अर्को महत्वपूर्ण गीतको रुपमा लिइन्छ । हरेक वर्ष उल्लेख्य मात्रामा तीज गीतहरु कुनै न कुनै माध्यमबाट व्यवसायिक रुपमा हेर्न पाइन्छ, यो सुखद् पक्ष पनि हो । तथापि, कतिपय तीजको नाममा देखिएका विकृति, विसंगति, अभद्र, श्रव्यदृश्यप्रति समस्त दर्शकस्रोताको गुनासो वर्षेनी आइरहने हुँदा यस वर्ष प्रतिष्ठानको विशेष ध्यानार्कषण गएको हो । तसर्थ सम्पूर्ण स्रष्टा, सर्जक, गायक–गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सद्भावमा खलल पु¥याउने एवं अभद्र र नियतवंश दुईअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत संगीत प्रस्तुत नगरिदिनु हुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिष्ठानले यस विषयमा पहलकदम सुरु गरेपछि विगतका वर्षमा जस्ता धेरै विकृतीजन्य गीत कलाकारले ल्याउन कम गरे पनि केही कलाकारले भने प्रतिष्ठानको उक्त ध्यानाकर्षणलाई बेवास्ता गरेको पाइएको छ । तीजका नाममा समाज भड्काउने अपाच्यजन्य गीतमा यस वर्ष प्रतिष्ठानले गरेको आग्रहबीच नै प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका गायक तथा मोडल दुर्गेश थापाले तीजकै नाममा ‘बीच्च बीच्चमा–४ ख्यास्स पुतली’ बोलको गीत ल्याएका छन् ।

थापाको उक्त गीत झट्ट सुन्दा र भिडियो हेर्दा गाउँ समाज र घर परिवारमा आमाबुवा तथा दिदीबहिनीसँगै बस्दा लाजै लाग्ने पाइएको छ । यतिबेला थापाको त्यस गीतप्रति सांगीतिक बजार र सामाजिक सञ्जालमा चर्को विरोध र आलोचना भइरहेको छ । त्यतिमात्र नभइ थापाको ‘ख्यास्स पुतली’ गीत युट्युबमा सार्वजनिक हुनुभन्दा अगाडि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आपत्ति जनाउँदै गीतमा भएको असभ्य शब्द फेरबदल गरी सभ्य र मौलिक शब्द राखेर युट्युबमा अपलोड गर्न आग्रह गर्दै विज्ञप्ति जारी थियो ।

प्रतिष्ठानअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ आपत्तिजनक रहेको भन्दै शब्द फेरबदल गर्न ध्यानाकर्षण गराएको जनाएको हो । पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने भन्दै प्रतिष्ठानले ध्यानाकर्षण गराएको प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालले जानकारी दिए ।

थापाको उक्त गीत तीजको मर्मविपरित रहेको जनाउँदै प्रतिष्ठानले गीतले मौलिक कला तथा संस्कृतिमाथि प्रहार गर्ने जनाउँदै आपत्तिजनक शब्द फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै गायक दुर्गेशलाई पत्र नै काटेको संयोजक हमालको भनाइ छ । तर, गायक थापाले प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेपछि उनलाई संस्थागत रुपमै बहिस्कार गर्ने निर्णय गरेको जनाएको छ ।

गायक थापालाई गत आइतबार बसेको बैठकले प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्बन गर्ने, सेवा सुविधाबाट बञ्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा तथा आयोजकलाई आग्रह गर्ने निर्णय गरेको संयोजक हमालले जानकारी दिए ।

उनले भने, ‘दुर्गेशलाई हामीले नराम्रो केही गर्न खोजेको हैन, हाम्रै घरभित्रको सहयात्री साथीभाइ हो, राम्रो गर्ने ठाउँ हुँदाहुँदै नराम्रो नगरौँ, हाम्रो समाज हामीले नै सुधारौँ, तपाईं हामी नै यत्रो संस्थामा बसेर समाज भड्काउने काम गरियो भने भोलि गीत संगीतलाई समाजले कुन रुपले हेर्लान् भनेर फोनमार्फत, प्रत्यक्ष भेटेर र पत्र काटेर पनि सम्झायौँ, गीत सार्वजनिक गर्नुभन्दा अगाडि पत्र पठाइयो, तर दुर्गेशजीले हाम्रो आग्रहलाई बेवास्ता गर्दै ‘ख्यास्स पुतली गीत सार्वजनिक गर्नु’भो ।’

प्रतिष्ठानसँग सरकारले दिएको सेन्सरबोर्ड तथा कारवाही गर्ने अधिकार नभए पनि संस्थाभित्रैका सदस्य गायक दुर्गेशलाई संस्थागत बहिष्कार गर्न लागेको हमालको भनाइ छ । भोलिको दिनमा गायक थापाले आफूले गरेको गल्ती सच्याएर माफी मागेको खण्डमा संस्थासँगै रहेर सहकार्य गर्न प्रतिष्ठान तयार रहेको पनि हमालले बताए । केही महिना अगाडि विगतका वर्षमा जस्तै तीज गीतको नाममा केही कलाकारले अपाच्यजन्य गीत सार्वजनिक गरेको र दर्शक–स्रोताबाट गुनासो आएपछि प्रतिष्ठानले यस वर्ष पनि त्यस्ता गीत बजारमा ल्याएर समाज नभड्काउन सम्बन्धित कलाकारलाई आग्रह गरेपछि यसै वर्ष पहिलाको वर्ष जस्तो बजारै गनाउने खालका गीत नआएको हमालले जिकिर गरे ।

उनले भने, ‘पोहोर तीजका गीत सुन्नै नसक्ने बजारै धमिलिएको थियो, तर यस वर्ष अधिकांश कलाकार साथीले संस्थाको आग्रहलाई सहजरुपमा स्वीकार गर्नु’भो र राम्रा तथा मौलिक गीत निकाल्नुभएको छ । अपाच्यजन्य गीत धेरै कम छ, तर केही साथीले हामीलाई कस्ले के गर्न सक्छ र ? प्रतिष्ठानले के नै गर्छ र ? भन्ने हेपाहा प्रवृत्तिले अहिले एकाधरुपमा त्यस्ता अपाच्य गीत आयो ।’

 

के भन्छन् दुर्गेश ?
गायक दुर्गेशले आफूले युट्युबबाट गीत नहटाउने र शब्द पनि फेरबदल नगर्ने अडान लिएका छन् । उनले आफूले तीज आउनुभन्दा चार महिनाअघि नै गीतको पोस्टर सार्वजनिक गरेको तर उतिबेलै प्रतिष्ठानले उक्त पोस्टरको कुनै वास्ता नगरेर आफूले सबै लगानी गरेर गीत र भिडियो युट्युबमा सार्वजनिक गर्नुभन्दा अघिल्लो दिन ध्यानाकर्षण पत्र पठाएको तर पनि उक्त पत्र औपचारिक रुपमा नभई म्यासेन्जरबाट आएको दाबी गरे । साथै दुर्गेशले प्रतिष्ठानले आफूलाई अन्याय गरेको समेत आरोप लगाए । उनले गाउँतिर ‘ख्यास्स’ भन्ने शब्द व्यापक रुपमा प्रचलनमा रहेको र त्यसलाई आफूले गीतमा प्रयोग गरेको दाबी गरे । ‘शब्दको अर्थ ‘बल्ल खाइस्’ भन्ने हुन्छ’, उनले भने, ‘त्यसमा नराम्रो भन्न खोजेको जस्तो मलाई लाग्दैन । तैपनि उहाँहरुले कसरी बुझ्नु भो त्यसबारे मलाई थाहा भएन ।’

उनले प्रतिष्ठानले कलाकारप्रति समान व्यवहार नगरेको आरोप लगाउँदै यसअघि पनि थुप्रै अपाच्य गीतमा चासो नदिएको जिकिर गरे । उनले प्रतिष्ठानका जिम्मेवार व्यक्तिले अपाच्य गीत ल्याउँदासमेत केही नगरेको आरोप लगाए । गायक थापाले यसअघि तिहारको सन्दर्भ पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनिक गरेपछि नेपाली मौलिक चाडपर्वमथि अपाच्यजन्य शब्द र देशमै प्रतिबन्धित गाँजालाई पनि समावेश गरेका थिए । त्यसबेला पनि विवादित बनेका थापालाई प्रहरीले समेत पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले थापालाई पक्राउ गरेको हो । लागुऔषधलाई प्रोत्साहन गरेर बालबालिकालाई प्रयोग गरेको अभियोगमा थापालाई प्रहरीले पक्राउ गरेर अब आइन्दा गीतमा सभ्य शब्द प्रयोग गर्ने शर्तसहित छाडेको थियो । पटक–पटक विवादमा फस्दै आएका गायक दुर्गेश यतिबेला पनि ‘ख्यास्स पुतली’ बोलको गीतले विवादमा तानिएका हुन् ।

प्रतिक्रिया