विश्व

बङ्गलादेशमा संक्रमण बढेपछि लकडाउनमा थप कडाइ

सौर्य अनलाइन २०७८ साउन १६ गते १८:५० मा प्रकाशित

ढाका । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका संक्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।

संक्रमण सुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै कङ्कट नपरेकोमा पछिल्लो समयमा यहाँ संक्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ ।

बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ । तर, पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ ।

यहाँ विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै संख्यामा सञ्चालन गर्न दिइएको थियो । आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ ।

पछिल्लो महिना यहाँ देशव्यापीरुपमा लकडाउन गरिएकोमा केही खकुलो थियो । आइतबारबाट मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेष्टुरेन्टमा हुने जमघटलाई पूर्णरुपमा निशेध गरिने बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय